आज काेजाग्रत पूर्णिमा, नवरात्री (दशैँ)काे विदाइ र महालक्ष्मीको स्वागत गर्दै मनाइने
महालक्ष्मीको पूजा–आराधना, रातभरको जाग्राम र नदीमा जमरा विसर्जन गरेसँगै नेपालीहरूको महान् पर्व बडादशैं आज औपचारिक रूपमा समापन हुँदैछ।
काठमाडाैँ । नेपालीहरूको महान् पर्व बडादशैं आज धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना तथा निष्ठापूर्वक उपासना गर्दै समापन गरिँदैछ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेर सुरु भएको यो नवरात्र पर्व आज कोजाग्रत पूर्णिमाका अवसरमा विधिवत् रूपमा अन्त्य हुन लागेको हो। विजयादशमीका दिनदेखि सुरु भएको मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम पनि आजैको दिनसँगै पूर्ण रूपमा बिदा हुन्छ।
आजको रातलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वका साथ हेर्ने गरिन्छ। जनविश्वास अनुसार आजको रात्रि देवी महालक्ष्मी पृथ्वी लोकको भ्रमणमा निस्कन्छिन् र ‘को जागेको छ?’ भनी हेर्ने गर्छिन्।
जो व्यक्ति रातभर जाग्राम बसेर निष्ठापूर्वक महालक्ष्मीको पूजा–आराधना गरिरहन्छ, उसैको घरमा माता लक्ष्मीले प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक मान्यता रहिआएको छ। यसै विश्वासका आधारमा आज साँझदेखि नै घरघरमा गृहिणीहरू जाग्राम बसेर महालक्ष्मीको विशेष पूजामा तल्लीन हुन्छन्।
शरद पूर्णिमाका रूपमा समेत चिनिने यस दिनको गरिमाले नेपाली समाजमा छुट्टै उल्लास बोकेको पाइन्छ। यस रात कतिपयले खीर पकाएर चन्द्रमालाइ अर्पित गर्छन् । चन्द्रमा देखिने वा चन्द्रमाकाे प्रकाश स्वतः खिरमा पर्ने गरी घर बाहिरकाे खुल्ला ठाउँमा खिर राखिन्छ ।
त्यसमा चन्द्रमाले अमृत भरिदिन्छन् भन्ने मन्यता छ । साेही खीर भाेलिपल्ट विहान चन्द्रमाकाे प्रसाद (अमृत) स्वरूप परिवारजनले ग्रहण गर्ने चलन छ । कतिपयले घरका बालबच्चालाइ अमृतमय दीर्घ जीवनकाे कामना गर्दै याे प्रसाद खुवाउँछन् ।
दशैँ पर्वको समापनसँगै आज बिहानैदेखि धार्मिक विधिहरू पनि तीव्र पारिएका छन्। दशैंघर तथा कोतहरूमा घटस्थापनाका दिन राखिएका जमरा र फूलपातीका अवशेषहरूलाई नजिकैका पवित्र नदी, तलाउ वा पोखरी जस्ता तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ। यसैबीच, परम्पराअनुसार राष्ट्रप्रमुखबाट भक्तपुरको प्रसिद्ध गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको बडादशैंको समापन भएको जनाउ दिने प्रचलन कायम छ।
आजको रात स्वयम्भू चैत्यमा विशेष पूजा आराधना गरी महादीप बाल्ने र जाग्राम बस्ने गरिन्छ भने भोलिदेखि एक महिनासम्म आकाशदीप बाल्ने परम्परा सुरु हुन्छ। यसै दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म साँझको समयमा बाँसको टुप्पोमा दियो बाल्ने तथा आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजा–आराधना गर्ने सनातन संस्कारको पनि थालनी हुन्छ।
यसरी आकाशदीप बाल्नेहरू काेजाग्रत पूर्णिमादेखि नै हरेक दिन विहान स्नान गरी चाेखाेनिताे भएर भगवान कार्तिकेयकाे पूजा गर्छन् । यसलाइ कार्तिकस्नान भनिन्छ । यस वर्ष काेजाग्रत पूर्णिमा आजै भए पनि कार्तिक स्नान भाेलिबाटमात्रै सुरू हुन्छ ।
यता, देशका विभिन्न भूभागमा यस दिनको रौनक आआफ्नै मौलिक शैलीमा देखिन्छ। तराई क्षेत्रमा नवविवाहित मैथिल ब्राह्मण र कायस्थ परिवारमा ससुरालीबाट पान-मखानसहितको पाहुर जाने चलन छ भने यसक्रममा साला र भिनाजुबीच खेलिने पासा खेलले पारिवारिक आत्मीयता अझ प्रगाढ बनाउँछ।
त्यस्तै, पर्यटकीय नगरी पोखरास्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि आज दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने गर्छ। यस पवित्र मन्दिरमा दर्शन गर्नाले जीवनका दुःखदर्द नाश हुने र मनोकांक्षा पूरा हुने जनविश्वासले टाढाटाढाबाट श्रद्धालुहरू यहाँ पुग्ने गरेका छन्।















