२६ आश्विन २०८३, सोमबार

५९ लाख १५ हजार कित्ता आईपीओ ल्याउँदै हिम पर्वत हाइड्रोपावर



काठमाडौं । कात्तिक ११ गतेदेखि हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ ल्याउन लागेकाे हाे ।

कम्पनीले १ अर्ब ६९ करोड रुपैयाँ कुल जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति पाएको छ। यसअनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ।

यस कुल निष्कासनमध्ये १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। जसअन्तर्गत अतिप्रभावित क्षेत्र तोकिएका दोलखा जिल्लाका बिगु गाउँपालिका (वडा नं. ५, ६, ७ र ८) तथा कालिन्चोक गाउँपालिका (वडा नं. २, ३ र ४) का बासिन्दाका लागि १० लाख १४ हजार कित्ता शेयर प्रदान गरिनेछ। बाँकी रहेको ६ लाख ७६ हजार कित्ता शेयर भने ती दुवै गाउँपालिकाका अन्य सबै वडाका स्थानीय बासिन्दाहरूका लागि बिक्री खुला गरिनेछ।

त्यसैगरी, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गर्नेछ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयकालागि आइपीओ निष्काशन बन्द छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।