२६ आश्विन २०८३, सोमबार

गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित



काठमाडौँ। गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकको हाल कायम चुक्ता पूँजीका आधारमा प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पनि स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित भएको बैंकले जनाएको छ।

बैंकको हालको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

आइएसओ ९००१:२०१५ र आइएसओ २७००१:२०२२ मान्यता प्राप्त गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवासमेत विस्तार गर्दै सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।