ट्रम्पले गाडी एसेम्बल प्लान्ट बनाउन ४ अर्ब डलर लगानी घाेषणा गरेपछि फक्सवागन समूह अप्ठेराेमा, स्वीकार गर्ने वाचा
काठमाडाैँ । जर्मन अटोमेकर कम्पनी अडी (औडी)का मुख्य कार्यकारी अधिकृत गर्णोट डोलनरले अमेरिकाको जर्जिया राज्यमा चार अर्ब डलर लगानी गरेर नयाँ प्लान्ट स्थापना गर्ने योजनाको बचाउ गरेका छन् ।
नोभेम्बरको मध्यावधि चुनावको प्रचार गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको सो योजनाको पक्षमा डोलनरले मुख खोलेका हुन्। मध्य जर्जियाको म्याकन नजिकै पेरीमा आयोजित एक चुनावी र्यालीमा डोलनर राष्ट्रपति ट्रम्पसँगै मञ्चमा उभिएका थिए।
सोही र्यालीका क्रममा अमेरिकी राष्ट्रपतिले फक्सवागन समूह अन्तर्गतको अडीले जर्जियामा वार्षिक दुई लाख वटा एसयूभी उत्पादन गर्ने एसेम्ब्ली प्लान्ट निर्माण गर्ने योजना बनाएको घाेषणा गरिदिए।
त्यसपछि पत्रकारहरूसँग कुरा गर्दै डोलनरले राष्ट्रपति ट्रम्पकाे उक्त घाेषणामाथि उठेकाे सवाल पुष्टि गरिदिए । उनले याे निर्णय लिनुअघि धेरै महिनासम्म सावधानीपूर्वक योजना निर्माण र गम्भीर वार्त्ताहरू भएको बताए।
साथै उनले अमेरिकी राष्ट्रपतिले निम्तो दिएपछि त्यो निम्तो स्वीकार गर्नुपर्ने पनि बताए। जुन पद र जुन देशमा लगानी गरिन्छ, त्यहाँको संस्थागत मर्यादा र सम्मानले पनि यस्तै माग गर्ने उनले स्पष्ट पारे। यो लगानीलाई अगाडि बढाउनका लागि फक्सवागनको सुपरभाइजरी बोर्डले अन्तिम निर्णय लिनुपर्नेछ।
चुनावी माहोल
जर्जियामा अमेरिकी सिनेट र गभर्नर पदका लागि कडा चुनावी प्रतिस्पर्धा चलिरहेको छ। ट्रम्प आफ्ना अटोमोबाइल करहरूले अमेरिकी अर्थतन्त्रलाई टेवा पुर्याइरहेको र अमेरिकी उत्पादनलाई बढावा दिइरहेको दाबी गर्न चाहन्छन्। जर्मनीमा भने यी करहरूले युरोपेली उद्योगमाथि दबाब बढाएको छ र फक्सवागनको व्यवस्थापन तथा कामदारहरूबीच तनाव सिर्जना गरेको छ।
कामदारहरूले जागिर कटौती र प्लान्ट बन्द हुने सम्भावनाको सामना गरिरहेका छन्।
अडीले जनाएअनुसार अमेरिकातर्फका लागि आफ्ना सबै सवारी साधनहरू युरोप वा मेक्सिकोबाट आयात गर्ने गरेका कारण गत वर्ष गाडी, स्टिल, आल्युमिनियम र तिनका पार्टपुर्जामाथि लगाइएको ट्रम्पको करले कम्पनीलाई करिब १ अर्ब २० करोड युरो (१ अर्ब ४ करोड डलर) लागत पारेको थियो।
करका आलोचकहरूले यी करहरू अमेरिकामा पनि हानिकारक साबित भएको बताएका छन्, किनकि यसले गाडीको मूल्य बढाएको छ र केही अटोमोबाइल कम्पनीहरूको लगानीमा ढिलाइ गराएको छ।
श्रम संगठनको असन्तुष्टि
जर्मनीको आइजी मेटल युनियनका एक प्रवक्ताले चुनावको समयमा डोलनरले ट्रम्पलाई हात मिलाएर साथ दिनु बुझ्न कठिन रहेको बताए। प्रवक्ताले ट्रम्पले सधैँ आफ्नो घरेलु अर्थतन्त्र, विशेष गरी अटोमोटिभ क्षेत्रलाई कमजोर बनाउन खोजेको स्पष्ट पार्दै आएको बताए।
आइजी मेटल युनियनकी प्रमुख तथा फक्सवागनको सुपरभाइजरी बोर्डकी उपप्रमुख क्रिस्टियन बेनरले नयाँ प्लान्टमार्फत अमेरिकी बजारमा कम्पनीको स्थिति सुधार गर्नु सही र आवश्यक भएको बताइन्। तर उनले सबै साइटहरू, विशेष गरी जर्मनीमा रहेका कामदारहरूको भविष्यका लागि दृढ प्रतिवद्धता स्पष्ट रूपमा परिभाषित र तय गरिनुपर्ने जोड दिइन्।
डोलनरले कम्पनीलाई कर छुट दिने-नदिने भन्ने विषयलगायत अमेरिकी सम्झौताका पूर्ण विवरणहरू दिन अस्वीकार गरे। फक्सवागनको दोस्रो ठूलो शेयरधनी रहेको जर्मनीको तल्लो साक्सोनी राज्यका प्रिमियर ओलाफ लिजले जर्मन कामदारहरूले पनि लाभ पाएको खण्डमा अमेरिकामा उत्पादन विस्तार गर्नु एक अवसर भएको बताए।
उनले अमेरिकामा हुने वृद्धिका कारण यहाँको रोजगारी र मूल्य सृजना सुरक्षित हुनुपर्ने र त्यसले यहाँका अवसरहरू विस्थापित गर्न नहुने बताए।
उत्पादनका योजना र बजार विस्तार
अडीले यो लगानीबाट करिब ४५ सय रोजगारी सिर्जना हुने बताएकाे छ। उक्त उद्याेग आगामी वर्षदेखि निर्माण कार्य सुरु हुने र २०३० को दशकको सुरुवातमै उत्पादन सुरु हुने तालिका रहेको छ। एक अमेरिकी अधिकारीलाइ उद्धृत गर्दै रोयटर्सले बताएअनुसार यस प्लान्टमा अडीका क्यु सेभेन, क्यु एट र क्यु नाइन एसयूभीहरू एसेम्बल हुनेछन्।
अधिकारीले अडीले छिमेकी राज्य दक्षिण क्यारोलिनामा पनि वार्षिक २५ हजार सवारी साधन उत्पादन गर्ने योजना बनाएको जानकारी दिए।
ती सवारी साधनहरू कोलम्बिया राज्यको राजधानी नजिकैको ब्लाइथवुडमा निर्माण भइरहेको फक्सवागनको अफ-रोड ब्रान्ड स्काउट मोटर्सको दुई अर्ब डलर लागतको प्लान्टमा एसेम्बल हुनेछन्।
फक्सवागनका मुख्य कार्यकारी अधिकृत ओलिभर ब्लूमले यस क्षेत्रलाई नाफामूलक वृद्धिका लागि एक प्रमुख बजारका रूपमा हेरेको बताए। उनले अमेरिकामा सम्भावित अडी प्लान्टले यसका लागि थप अनुकूल परिस्थितिहरू सिर्जना गर्ने उल्लेख गरे। शनिबार ट्रम्पको र्यालीबाहिर निर्माताको लाइसेन्स प्लेट भएको सुनौलो रङको एक अडी कार पार्क गरिएको थियो।
एक विशाल साम्राज्य
फोक्सवागन समूहको सेयरधनी संरचना विशिष्ट प्रकारको छ, जसमा अर्बपति परिवारहरू र राजनीतिक सरोकारवालाहरू समावेश छन्। यसले सूचीकृत सहायक कम्पनीहरू, ब्रान्डहरू, संयुक्त उद्यमहरू र अन्य लगानीहरू समेटेको एक जटिल सञ्जालको पनि व्यवस्थापन गर्दछ।
















