व्यापार लगातार घट्दै, ऋणको भार बढ्दै: जेडटीईले जोगाउला नेपाल बजारमा संघर्षरत जगदम्बा मोबाइल्सको अस्तित्व ?
काठमाडौँ । शंकर ग्रुप अन्तर्गतको एक प्रमुख सहायक कम्पनी जगदम्बा मोवाइल्स प्रालि नेपाली बजारमा अस्तित्वको लडाइँ लडिरहेको छ। पछिल्लो ५ वर्षको व्यापारिक तथ्याङ्क हेर्दा कम्पनीको कारोबार लगातार घटिरहेको छ। व्यापारमा आएको गिरावटसँगै कम्पनीको ऋणको भार बढेको छ भने सञ्चालन नाफा र ब्याज तिर्ने क्षमतामा पनि उतारचढाव देखिएको छ।
सन् २०२२ मा ३ अर्ब २४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको कारोबार त्यसपछि क्रमशः ओरालो लाग्दै आएको छ। सन् २०२३ मा घटेर २ अर्ब ७६ करोड २० लाख रुपैयाँमा सीमित भएको व्यापार सन् २०२४ मा थप घटेर २ अर्ब ६ करोड ४० लाख रुपैयाँमा झर्यो।
यसैगरी, सन् २०२५ मा कम्पनीको व्यापारमा १३ प्रतिशतले संकुचन आएर १ अर्ब ७९ करोड ५० लाख रुपैयाँमा खुम्चियो भने सन् २०२६ मा आइपुग्दा व्यापारमा थप ८ प्रतिशतले गिरावट आएर १ अर्ब ६५ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। पाँच वर्षको अवधिमा कम्पनीको व्यापार १ अर्ब ५९ करोड रुपैयाँले घटेको देखिन्छ।
व्यापारमा आएको यो गिरावटको मुख्य कारण मोबाइल तथा यसका सामानहरू पहिले भारतबाट ल्याउने गरिएकोमा हाल ती सामान ल्याउने मुख्य स्रोत चीनतर्फ परिवर्तन हुनुलाई मानिएको छ। चीनबाट सामान आयात गर्दा ढुवानी तथा अन्य सञ्चालन खर्च बढेको र यसले कम्पनीको लागतमा दबाब सिर्जना गरेको हो। त्यसमाथि सफारी लगेजको माग कमजोर हुँदा पनि कम्पनीको व्यापार प्रभावित भएको छ।
कम्पनीले रियलमी स्मार्टफोनबाहेक सफारी लगेज, बाउल्ट अडियो उपकरण तथा अन्य विभिन्न विद्युतीय उपकरण पनि बिक्रीवितरण गर्दै आएको छ। तर, यी वस्तुको कारोबारले पनि पछिल्लो समय कम्पनीको व्यापारमा आएको गिरावट रोक्न सकेको देखिँदैन।

व्यापार घटे पनि नाफामा सुधार
व्यापारसँगै कम्पनीको सञ्चालन नाफा दरमा ठूलो उतारचढाव देखिएको छ। सन् २०२२ मा २.७४ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा दर सन् २०२३ मा बढेर ५.०४ प्रतिशत पुगेको थियो। तर, सन् २०२४ मा पुनः घटेर ४.२० प्रतिशतमा सीमित भयो। सन् २०२५ मा सञ्चालन नाफा दर ऋणात्मक बनेकोमा सन् २०२६ मा सुधार भएर १.८ प्रतिशत कायम भएको छ।
व्यापारमा गिरावट आए पनि बिक्री तथा वितरणमा हुने खर्च घटेका कारण पछिल्लो वर्ष नाफाको अवस्थामा सुधार आएको हो। रियलमीको चिनियाँ कम्पनीबाट ब्रान्डसम्बन्धी केही खर्च फिर्ता प्राप्त भएपछि बिक्री तथा वितरण खर्च घटेको प्रतिवेदनमा उल्लेख छ।
यसको प्रभाव खुद नाफामा पनि देखिएको छ। सन् २०२५ मा ऋणात्मक रहेको खुद नाफा दर सन् २०२६ मा करिब १ प्रतिशत पुगेको छ। त्यस्तै, कम्पनीको आन्तरिक नगद आम्दानी पनि ऋणात्मक अवस्थाबाट सुधार भएर करिब १ करोड ३० लाख रुपैयाँ पुगेको छ।
यसले कम्पनीको व्यापार घटिरहेको भए पनि खर्च व्यवस्थापन र नाफाको अवस्थामा केही सुधार भएको देखाउँछ। यद्यपि, व्यापारमा निरन्तर आएको गिरावटले कम्पनीको समग्र व्यावसायिक अवस्थामाथि दबाब कायमै रहेको छ।
ब्याज तिर्ने क्षमता सुधारिए पनि ऋणको भार बढ्यो
जगदम्बा मोबाइल्सको ब्याज तिर्ने क्षमता विगतका वर्षहरूमा लगातार खस्किएर ऋणात्मकसम्म पुगेको भए पनि पछिल्लो वर्षमा भने यसमा केही सुधार भएको छ।
कम्पनीको ब्याज तिर्ने क्षमता मापन गर्ने अनुपात सन् २०२२ मा २.५१ गुणा रहेकोमा सन् २०२३ मा घटेर १.७६ गुणा र सन् २०२४ मा १.५० गुणामा सीमित भएको थियो। सन् २०२५ मा यो अनुपात ऋणात्मक बनेको थियो भने सन् २०२६ मा सुधार भएर १.२८ गुणा पुगेको छ।
त्यस्तै, ऋणको साँवा तथा ब्याज भुक्तानी गर्ने क्षमतासमेत सुधारिएको छ। सन् २०२५ मा ०.३९ गुणा रहेको ऋण भुक्तानी क्षमता सन् २०२६ मा बढेर १.४० गुणा पुगेको छ। यद्यपि, ऋणको भुक्तानी गर्न सक्ने क्षमतामा सुधार आए पनि कम्पनीसँग पर्याप्त वित्तीय सुरक्षा रहेको अवस्था भने देखिँदैन।
अर्कोतर्फ, कम्पनीको ऋणको भार भने बढेको छ। सन् २०२५ मा १.६० गुणा रहेको कुल ऋण र स्वपुँजीको अनुपात सन् २०२६ को मध्य जुलाईसम्म २.८४ गुणा पुगेको छ। कम्पनीले दैनिक व्यावसायिक कारोबार सञ्चालन गर्न आवश्यक चालु पुँजीका लागि बढी ऋण लिनुपरेपछि यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको चालु पुँजीमा पर्ने दबाब पनि बढेको छ। सन् २०२५ मा करिब १५ प्रतिशत रहेको चालु पुँजीको आवश्यकता सन् २०२६ मा बढेर करिब ३२ प्रतिशत पुगेको छ। यसले व्यापार सञ्चालन गर्न कम्पनीले थप रकम जुटाउनुपर्ने अवस्था सिर्जना भएको देखाउँछ।
विदेशी मुद्रा र प्रतिस्पर्धाको चुनौती
चीनबाट सामान आयात गर्न थालेपछि कम्पनीको विदेशी मुद्रा विनिमयसम्बन्धी जोखिमसमेत बढेको छ। कम्पनीले खरिद गर्ने सामानको भुक्तानी मुख्यतः अमेरिकी डलरमा गर्नुपर्ने भएकाले नेपाली रुपैयाँको तुलनामा डलर महँगिएमा सामानको लागत बढ्न सक्छ। यसले कम्पनीको नाफामा थप दबाब पार्न सक्ने जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ।
त्यसमाथि स्मार्टफोन बजारमा तीव्र प्रतिस्पर्धा र प्रविधिमा हुने निरन्तर परिवर्तन कम्पनीका लागि अर्को चुनौती हो। स्मार्टफोनको प्रविधि छोटो अवधिमै परिवर्तन हुने भएकाले नयाँ सुविधा भएका उपकरण प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन नसके बजारमा आफ्नो स्थान कायम राख्न कठिन हुन सक्छ। कम्पनीको व्यापार रियलमीको बजार प्रदर्शनसँग पनि जोडिएको छ।
नेपालको स्मार्टफोन बजारमा रियलमीको हिस्सा सन् २०२६ अगस्टसम्म करिब ६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। कम्पनीले देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गर्दै सन् २०२५ मा ६५ रहेको विक्रेताको सङ्ख्या सन् २०२६ मा ३२६ पुर्याएको छ। यसले बजारमा पहुँच विस्तार भएको देखाए पनि त्यसअनुसार व्यापार बढ्न सकेको छैन।
जेडटीई भित्र्याएर व्यापार विस्तारको प्रयास
प्रतिष्ठित शंकर समूहको मातहतमा सञ्चालित यस कम्पनीले बजारमा आफ्नो पकड जोगाइराख्न नयाँ ब्रान्डका रूपमा जेडटीई स्मार्टफोन पनि भित्र्याएको छ। सन् २०२६ को मध्य जुलाईदेखि जेडटीई स्मार्टफोनको बिक्रीवितरण सुरु गरेको कम्पनीले यसअघि आफ्नो भगिनी संस्थामार्फत बिक्री हुँदै आएको ब्रान्डलाई आफ्नो व्यवसायमा समेटेको हो।
सन् २०११ जुलाई ७ मा स्थापना भएको जगदम्बा मोबाइल्स रियलमी स्मार्टफोन तथा यसका सामानको नेपालका दुई आधिकारिक वितरकमध्ये एक हो। कम्पनीको स्वामित्व सन् २०२६ को मध्य जुलाईसम्म सुलभ अग्रवालसँग रहेको प्रतिवेदनमा उल्लेख छ। शंकर समूहसँगको आबद्धताले कम्पनीलाई वित्तीय सहयोग, व्यवस्थापकीय अनुभव र व्यावसायिक सञ्चालनमा सहजीकरण मिल्दै आएको पनि प्रतिवेदनले जनाएको छ।
यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको अल्पकालीन बैंक ऋण सुविधाको ‘आईआरएन ए ४’ मूल्याङ्कनलाई निरन्तरता दिएको छ। कम्पनीको यस्तो ऋण सुविधा ९० करोड रुपैयाँबाट घटाएर ७५ करोड रुपैयाँ कायम गरिएको छ।















