१० कार्तिक २०८३, मंगलबार

कर्जा दुरुपयोग र राजस्व छलीको गलपासोमा ज्योति समूह, बैंकहरूले धमाधम लिलामी निकाल्दै



व्यापारिक प्रयोजनका लागि लिइएको अर्बौं रुपैयाँ कर्जा अन्यत्रै लगानी गरी दुरुपयोग गरेपछि ज्योति समूहका अध्यक्ष डा. रूप ज्योतिसहितका कम्पनीहरू गम्भीर वित्तीय संकटमा फसेका छन्।

काठमाडाैँ । देशको एक प्रतिष्ठित व्यापारिक घराना ज्योति समूह ठूलो आर्थिक संकटमा फसेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट व्यवसाय विस्तारका लागि लिइएको अर्बौं रुपैयाँ ऋणको साँवा तथा ब्याज समयमै भुक्तानी गर्न नसकेपछि बैंकहरूले यस समूहका विभिन्न सम्पत्ति लिलामीको प्रक्रिया अगाडि बढाएका छन्।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र प्रभु बैंकले ज्योति समूह अन्तर्गतका कम्पनीहरू र सञ्चालकहरूको नाममा रहेको धितो जफत तथा लिलामीका लागि कडा कानुनी कदम चालेका हुन्। पारिवारिक विवाद, बजार मन्दी र बैंकिङ कर्जाको अनधिकृत प्रयोगका कारण यो समूह अहिले चौतर्फी दबाबमा आएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ज्योति समूहबाट लिनुपर्ने ५७ करोड ९० लाख रुपैयाँभन्दा बढीको ऋण नउठेपछि एक्सन लिएको छ। बैंकले पर्साको वीरगन्जस्थित चोर्नीमा डा. रूप ज्योतिको नाममा रहेको करिब एक सय २० रोपनीभन्दा बढी जग्गा लिलामीको सूचना जारी गरे पनि ऋण चुक्ता हुन सकेको छैन।

यस्तै, प्रभु बैंकले पनि ज्योति समूह अन्तर्गतका नर्थ फेस होटल र नेपाल जनरल मार्केटिङको ऋण असुल गर्न ३५ दिने, १५ दिने र अन्तिम सात दिने सार्वजनिक बोलपत्र सूचना जारी गरेको छ। बूढानीलकण्ठ क्षेत्रमा रहेका यी कम्पनीका भौतिक संरचना तथा जग्गाधनीहरूले ऋण राफसाफ नगरेपछि बैंकले कारबाही अगाडि बढाएको हो।

यसैगरी, नेपाल बैंक लिमिटेडले पनि नेपाल जनरल मार्केटिङ र ग्रान्डे सिटी क्लिनिक एन्ड हस्पिटलसहित चारवटा कम्पनीले लगातार कर्जा भुक्तानी नगरेपछि कारबाही सुरु गरेको छ। बैंकले डा. रूप ज्योति, उनका छोरा अभिक ज्योति र छोरी सुरुचि ज्योतिको नाममा रहेका धितो सम्पत्ति जफत तथा लिलामी गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ।

ज्योति समूहले व्यापारको नाममा बैंकबाट लिएको अर्बौं रुपैयाँ अन्यत्र गैरकानूनी रूपमा लगानी तथा दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ। स्याकार कम्पनी, नेपाल जनरल मार्केटिङ र जिआईएच सर्भिसेज लगायतका कम्पनीले लिएको ठूलो रकम स्वीकृत प्रयोजनमा नलगाई तमसुकका आधारमा विनाधितो अन्यत्र प्रवाह गरिएको पाइएको छ।

समूहका कम्पनीहरुकै लेखापरीक्षण प्रतिवेदनले समेत कारोबार पारदर्शी नरहेको र प्रोदभावी प्रणाली अनुसार लेखा नराखिएको औंल्याएका छन्। यसरी बाह्य क्षेत्रमा गरिएको गैरकानूनी लगानी र राजस्व छलीका विषयमा महालेखा परीक्षकको कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा नेपाल राष्ट्र बैंकले सूक्ष्म निगरानी बढाएका छन्।

नेपाल जनरल मार्केटिङले मात्रै विभिन्न बैंकबाट तीन अर्ब २९ करोड रुपैयाँभन्दा बढी कर्जा लिएकोमा एक अर्बभन्दा बढी रकम गैरकानूनी रूपमा अन्यत्र लगानी गरेको देखिएको छ भने १५ करोडभन्दा बढी ऋणको प्रत्यक्ष दुरुपयोग भएको छ।

बैंकहरूले लिलामीको प्रक्रिया सुरु गरेपछि ज्योति समूहले त्यसलाई रोक्न अदालतमा मुद्दाहरू दायर गर्दै आएको छ। कानुनी झमेला र मुद्दामामिलाका कारण यो व्यापारिक घराना थप आर्थिक संकटमा जेलिँदै गएको छ। सर्वसाधारणको बचत र बैंकको ऋण गैरकानूनी प्रयोजनमा प्रयोग हुँदासमेत ऋण प्रवाह गर्ने बैंकहरूका पदाधिकारीको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाइएको छ।

कर्जा दुरुपयोग लुकाउन सहयोग गरेको आशंकामा सम्बन्धित बैंकका अधिकारीहरू समेत छानबिनको दायरामा आउने सम्भावना बढेको छ। नियमनकारी निकायले यस विषयमा थप कडाइ नगरे राज्यका अन्य निकाय सक्रिय हुनुपर्ने अवस्था सिर्जना भएको छ।