११ कार्तिक २०८३, बुधबार

उत्पादन क्षमता बढेसँगै ए.बी.सी. आयल इन्डष्ट्रिजको व्यापारमा छलाङ, एक वर्षमा बिक्री गर्‍यो ७ अर्बभन्दा बढीको तेल



काठमाडौँ । नेपालको एक प्रमुख खाद्य तेल उत्पादक तथा प्रशोधन उद्योग ए.बी.सी. आयल इन्डष्ट्रिजको व्यापार ६० प्रतिशतले बढेको छ।

पछिल्लो एक वर्ष सन् २०२६ मा कम्पनीले कुल ७ अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको सनफ्लावर, भटमास तथा पाम आयल बिक्री गरेको छ। यसअघि कम्पनीले सन् २०२५ मा ४ अर्ब ४२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२४ मा १ अर्ब ४१ करोड ३० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो ।

हाल कम्पनीले उत्पादन क्षमता विस्तार गरी वार्षिक ७३ हजार मेट्रिक टन पुर्‍याइएको र घरेलु बजारमा उच्च माग रहेका कारण कम्पनीको व्यापारमा द्रुत गतिमा सुधार आएको हो। कम्पनीले आफ्नो कुल बिक्रीको करिब ७५ प्रतिशत हिस्सा आन्तरिक बजारमै बिक्री गर्दै आएको छ।

व्यापार बढे पनि कम्पनीको सञ्चालन नाफा दर भने सामान्य रूपमा घटेको छ। सन् २०२४ मा ९.१७ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफादर सन् २०२५ मा ७.२४ प्रतिशत र सन् २०२६ मा ७.१५ प्रतिशतमा खुम्चिएको छ।

कम्पनीको व्यवसाय कार्य पुँजीमा अत्यधिक आधारित रहेको छ। इन्डोनेसिया, मलेसिया, अर्जेन्टिना, रुस र युक्रेन लगायतका देशहरूबाट भारतीय ब्रोकरमार्फत कच्चा तेल आयात गरी प्रशोधन गर्ने यस कम्पनीको कार्य चक्र सन् २०२६ मा बढेर १२५ दिन पुगेको छ।

कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको दाँजोमा नेपाली मुद्राको विनिमय दरमा हुने फेरबदल तथा भारतको आयात कर नीतिमा हुने परिवर्तनले कम्पनीको व्यापार तथा नाफामा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

यता कम्पनीको खुद नगद सञ्चय वा कुल नगद आर्जन सन् २०२५ मा २० करोड ५० लाख रुपैयाँ रहेकोमा बढेर सन् २०२६ मा ३१ करोड ८० लाख रुपैयाँ पुगेको छ। कारोबारमा भारी वृद्धि भए पनि व्यवसाय विस्तारका लागि लिइएको दीर्घकालीन कर्जा र बढ्दो माग धान्न आवश्यक पर्ने कच्चा पदार्थको स्टकका कारण लिइएको अल्पकालीन कर्जाले गर्दा समग्र ऋण अनुपात आर्थिक वर्ष २०२५ को ३.५६ गुणाबाट बढेर आर्थिक वर्ष २०२६ मा ३.८७ गुणा पुगेको छ।

यद्यपि, कम्पनीको ब्याज तिर्ने क्षमतामा पनि सीधा सुधार देखिएको छ। कम्पनीको ब्याज कभरेज अनुपात अघिल्लो आर्थिक वर्षमा ३.०० गुणा रहेकोमा सन् २०२६ मा बढेर ३.८७ गुणा पुगेको छ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिनका लागि कुल ३ अर्ब ३० करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ। यीनै वित्तीय सूचकहरूलाई आधार मानेर केयर रेटिङ्स नेपाल लिमिटेडले ४० करोड ८३ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र २ अर्ब ९० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ उपलब्ध गराएको छ।