११ कार्तिक २०८३, बुधबार

भन्सारमा अब ब्रान्ड, मोडेल र साइज अनिवार्य; विवरण लुकाए कडा कारबाही हुने



आयात–निर्यातलाई व्यवस्थित र पारदर्शी बनाउन भन्सार विभागले वस्तुको ब्रान्ड, मोडेल र साइज अनिवार्य खुलाउनुपर्ने गरी नयाँ मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ।

काठमाडाैँ । नेपालको वैदेशिक व्यापारलाई थप पारदर्शी, व्यवस्थित र तथ्यपरक बनाउने उद्देश्यसहित भन्सार प्रशासनले नयाँ र कसिलो नीति अगाडि बढाएको छ। अब देशका विभिन्न नाकाबाट आयात तथा निर्यात हुने प्रत्येक वस्तुको वास्तविक पहिचान अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।

यसअघि व्यापारीहरूले सामान्य विवरण राखेर सामान भित्र्याउने वा पठाउने गरेकामा अबदेखि प्रज्ञापनपत्रमा वस्तुको ब्रान्ड, मोडेल र साइज जस्ता सूक्ष्म विवरणहरू प्रष्टसँग उल्लेख गर्नुपर्ने नियम लागू गरिएको छ। भन्सार मूल्यांकनमा देखिएका बेथिति र तथ्यांकमा हुने अमिल्दोपनलाई सधैंको लागि अन्त्य गर्न यो कदम चालिएको हो।

भन्सार विभागले हालै ‘किटानी विवरण घोषणासम्बन्धी मार्गदर्शन’ जारी गरेसँगै यससम्बन्धी अभ्यासले कानुनी पूर्णता पाएको छ। भन्सार ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। पछिल्लो समय आयातकर्ता तथा निर्यातकर्ताहरूले वस्तुको यथार्थ विवरण लुकाउने वा गोलमटोल राख्ने प्रवृत्ति बढेपछि प्रशासनले निगरानी कडा पारेको छ।

नयाँ व्यवस्थाअनुसार अब घोषणा गरिने विवरणहरूमा कुनै पनि किसिमको अस्पष्टता वा अपूर्णता सह्य हुने छैन। यदि कागजातमा उल्लेखित विवरण र वास्तविक वस्तुको पहिचानमा भिन्नता भेटिएमा वा विवरण अपूर्ण राखिएमा प्रचलित कानुन बमोजिम कडा दण्ड जरिवाना र कानुनी कारबाही भोग्नुपर्नेछ।

कसरी हुन्छ ब्रान्ड, मोडेल र साइजको पहिचान?

नयाँ मार्गदर्शनले वस्तुको वर्गीकरणलाई निकै वैज्ञानिक र व्यावहारिक बनाउन खोजेको छ। सामान आयात गर्दा आधिकारिक कागजात वा खोलमा लेखिएको ब्रान्डलाई नै मुख्य आधार बनाउनुपर्नेछ।

यदि कुनै वस्तुमा ब्रान्ड उल्लेख गरिएको छैन भने सीधै उत्पादक कम्पनीको नाम वा आधिकारिक व्यापारिक संस्थाको लेबललाई ब्रान्डको रूपमा मान्यता दिइनेछ। वस्तुको कुनै पनि पहिचान नभएको अति दुई प्रतिशत दुर्लभ अवस्थामा मात्र ‘एनए’ लेख्न पाइने छुट दिइएको छ।

त्यसैगरी वस्तुको प्राविधिक विशेषता, डिजाइन वा प्रकारलाई मोडेलका रूपमा प्रस्तुत गर्नुपर्नेछ। जस्तै, कुनै पनि औद्योगिक फिल्टर वा यन्त्र मगाउँदा त्यसको सामान्य नाम लेखेर मात्र पुग्दैन, त्यसको आधिकारिक पार्ट नम्बर वा मोडेल अनिवार्य रूपमा खुलाउनुपर्छ।

कृषि उपजको हकमा तिनको जात, कपडाको हकमा प्रकार र रासायनिक पदार्थ वा कोइलाको हकमा गुणस्तर वा ग्रेड खुलाउनु अनिवार्य गरिएको छ। साइजको मामिलामा पनि भौतिक आयाम, मोटाइ, आकार र क्षमतालाई प्रस्ट्याउनुपर्नेछ।

तयारी कपडा वा जुत्ता चप्पलको हकमा उमेर समूह अर्थात् वयस्क र बच्चा छुट्याएर सही साइज उल्लेख गर्नुपर्नेछ भने फाइबर ब्ल्यांकेट जस्ता वस्तुको लम्बाइ र चौडाइको महल खाली छोड्न पाइने छैन।

पारदर्शिता र तथ्यांक शुद्धता

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले पछिल्लो समय वस्तुको अस्पष्ट विवरण पेश गरेर राजस्व छल्ने वा तथ्यांकलाई भ्रामक बनाउने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रण गर्न मार्गदर्शन ल्याइएको स्पष्ट पारेका छन्।

उनका अनुसार यो नियम कुनै कागजी प्रक्रिया मात्र नभई यसको कार्यान्वयन अत्यन्त कडाइका साथ हुनेछ। नयाँ व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि भन्सार जाँचपासको प्रक्रिया थप सहज, विश्वासिलो र पारदर्शी बन्ने विभागको विश्वास छ।

यसले एकातिर राज्यको राजस्व संकलनमा एकरुपता ल्याउनेछ भने अर्कोतिर नेपाल भित्रिने र बाहिरिने वस्तुहरूको आधिकारिक तथ्यांकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै भरपर्दो बनाउन मद्दत पुग्नेछ।