११ कार्तिक २०८३, बुधबार

आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’ को ताण्डव: हजारौँ विद्युत् खम्बा ढले, रेल सेवा ठप्प



काठमाडाैँ । भारतको दक्षिण-पूर्वी राज्य आन्ध्र प्रदेशका तटीय क्षेत्रहरूमा ‘अर्नब’ नामक शक्तिशाली चक्रवातले ठूलाे जनधनको क्षति पुर्याएको छ। चक्रवातका कारण आएको तीव्र हावाहुरी र भारी वर्षाले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ भने तटीय क्षेत्रका अधिकांश भूभाग अन्धकारमा डुबेका छन्।

मौसमसम्बन्धी अधिकारीहरूका अनुसार आँधीको प्रभाव आगामी दुइ दिनसम्म रहन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

भारतीय मौसम विभागका अनुसार चक्रवात यानमको दक्षिणतर्फ बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। सो क्रममा हावाको अधिकतम गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो।

चक्रवात जमिनमा ठोक्किएसँगै चलेको हुरीका कारण हजारौँ ठूला रूखहरू उखेलिएका छन्। आँधीअघि नै भएको भारी वर्षाका कारण तटीय क्षेत्रका बस्तीहरू जलमग्न भएका छन् भने कतिपय स्थानमा बाढीको समेत समस्या देखिएको छ।

चक्रवातका कारण आन्ध्र प्रदेशको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ। विशेष गरी कोनासीमा जिल्लामा मात्रै करिब छ हजार विद्युत् खम्बा ढलेका छन्। सुरक्षा र जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका धेरै स्थानमा पूर्वसावधानीस्वरूप विद्युत् आपूर्ति बन्द गरिएको छ।

यसैबीच, सम्भावित दुर्घटना टार्न अधिकारीहरूले दर्जनौँ रेल सेवाहरू समेत रद्द गरेका कारण आवतजावत ठप्प भएको छ।

विद्युत् आपूर्ति ठप्प भएपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले सास्ती व्यहोर्नुपरेको छ। यसैबीच, आन्ध्र प्रदेशका ऊर्जामन्त्री गोट्टिपति रविकुमारले चक्रवातको प्रभाव पूर्ण रूपमा कम भएको २४ घण्टाभित्रै सबै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुन: सञ्चालनमा ल्याइने बताएका छन्। राज्य सरकारले युद्धस्तरमा मर्मत तथा उद्धारको काम अगाडि बढाइएको र ढलेका खम्बा तथा तारहरू हटाउने काम भइरहेको जनाएको छ।

याे चक्रवातकाे असर नेपालमा भाेलिसम्म भित्रिइसक्ने माैसमविदहरूले अनुमान गरेका छन् । यसले भाेलिदेखि २ वा ३ दिन माैसम तनावपूर्ण हुने र भारी वर्षा तथा हिमपात हुने अड्कल गरिएकाे छ ।