११ कार्तिक २०८३, बुधबार

तीन महिनामै आयात ३८ र निर्यात ५७ प्रतिशतले बढ्यो, व्यापार घाटा साढे पाँच खर्ब



चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारको आकार सवा सात खर्बभन्दा माथि पुगेर फराकिलो बने पनि आयातको तुलनात्मक भारले व्यापार घाटा भने साढे पाँच खर्ब नाघेको छ।

काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको बाह्य व्यापारमा उल्लेख्य फेरबदल देखिएको छ। साउनदेखि असोज मसान्तसम्मको अवधिमा मुलुकको वैदेशिक व्यापारको आकार फराकिलो बन्दा आयात र निर्यात दुवैको ग्राफ उच्च दरले उक्लिएको हो।

भन्सार विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकले व्यापारको आकार बढाउन निर्यातको वृद्धिदर केही उत्साहजनक देखिए पनि आयातको अस्वभाविक भारीले अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब कायमै रहेको देखाएको छ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा मुलुकको कुल वैदेशिक व्यापारमा ४० प्रतिशतभन्दा बढीको छलाङ आएको छ। समीक्षा अवधिमा आयात र निर्यात जोड्दा कुल वैदेशिक व्यापार सात अर्ब ६१ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

गत वर्षको सोही अवधिमा यस्तो व्यापार पाँच अर्ब ४० अर्ब रुपैयाँको हाराहारीमा मात्र सीमित थियो। आयातको आकार मात्रै नभई यस पटक नेपालबाट हुने निर्यातको गति पनि तीव्र देखिएको छ।

गत वर्षको पहिलो तीन महिनामा ७२ अर्ब रुपैयाँमा सीमित रहेको वस्तु निर्यात चालु वर्षमा ५७ प्रतिशतभन्दा बढीले वृद्धि भई एक अर्ब १४ अर्ब रुपैयाँ नाघेको छ। कुल व्यापारमा निर्यातको हिस्सा पनि गत वर्षको १३.४६ प्रतिशतबाट सुधारिएर १५.०२ प्रतिशतमा पुगेको छ। निर्यातको यो वृद्धिदरलाई अर्थतन्त्रका लागि एक किसिमको सकारात्मक संकेतका रुपमा हेरिएको छ।

निर्यातको वृद्धिदर आकर्षक देखिए पनि कुल व्यापारको ठूलाे हिस्सा अझै पनि आयातले नै ओगटेको छ। चालु आर्थिक वर्षको असोजसम्ममा मुलुकले छ अर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ।

गत वर्षको यही अवधिमा चार अर्ब ६८ अर्ब रुपैयाँको मात्र आयात भएको थियो। एक वर्षको अन्तरालमा आयातको यो परिमाण ३८ प्रतिशतभन्दा बढीले बढेको तथ्यांकले स्पष्ट पारेको छ।

कुल व्यापारमा आयातको हिस्सा अझै पनि ८४.९८ प्रतिशत रहेको छ। यद्यपि गत वर्षको तुलनामा यो हिस्सा केही घटेको देखिए पनि नेपालको व्यापार संरचना अझै पूर्ण रूपमा आयातमुखी नै रहेको यो तथ्यांकले पुष्टि गर्छ। आयात र निर्यातबीचको अनुपात केही खस्किएर ५.६६ गुणामा झरे पनि बाह्य व्यापारको खाडल पुरिन अझै धेरै समय लाग्ने देखिएको छ।

आयात र निर्यातबीचको यो असन्तुलित खाडलले मुलुकको व्यापार घाटालाई झनै फराकिलो बनाएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै नेपालको व्यापार घाटा पाँच खर्ब ३२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा तीन अर्ब ९५ अर्ब रुपैयाँको आसपासमा मात्र थियो।

एक वर्षको अवधिमा व्यापार घाटा करिब ३५ प्रतिशतले बढेको छ। निर्यातको वृद्धिदर आयातको तुलनामा प्रतिशतका हिसाबले केही बढी देखिए पनि परिमाणका दृष्टिले आयातको आयतन कैयौं गुणा ठूलो भएका कारण घाटाको यो अंक चुलिन पुगेको हो।

यस अवस्थाले मुलुकभित्र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यातमुखी उद्योगलाई थप गति दिने नीतिगत कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने सन्देश दिएको छ।