अम्बे स्टिल कारखानामा आगलागी, भट्टी पड्किँदा आठ श्रमिक घाइते
बाँकेको जानकी गाउँपालिकास्थित अम्बे स्टिल कारखानामा फलाम पगाल्ने भट्टी सर्ट सर्किट हुँदा भएको भीषण आगलागीमा आठ जना मजदुर गम्भीर रूपमा घाइते भएका छन्।
काठमाडाैँ । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आइतबार बिहान अचानक आगलागी हुँदा आठ जना मजदुर घाइते भएका छन्। कारखानामा फैलिएको आगो र त्यसले मच्चाएको भागदौडले केहीबेर बकसपुर क्षेत्र त्रसित बनेको थियो। फलाम पगाल्ने क्रममा भएको यस दुर्घटनाले औद्योगिक सुरक्षामाथि गम्भीर प्रश्न उब्जाइएको छ।
बिहान करिब ५:४० बजेको समय थियो। कारखानामा दैनिकझैँ काम भइरहेको बेला फलाम पगाल्ने तीनवटा ठूला भट्टीमा अचानक विद्युत् सर्ट सर्किट भयो। प्रतिभट्टी २५ टन क्षमताका ती शक्तिशाली भट्टीहरूमा करेन्ट सर्ट भएसँगै आगोको ज्वाला चारैतिर फैलियो।
क्षणभरमै कारखानाभित्र धुवाँको कालो मुस्लो र आगोको लप्का निस्किएपछि कार्यरत मजदुरहरूबीच भागदौड मच्चियो। बिहानको यो आकस्मिक दुर्घटनाले त्यहाँ कार्यरत श्रमिकहरूलाई ज्यान बचाउनका निम्ति धधकति आगोसँग संघर्ष गर्न बाध्य बनायो।
घटनालगत्तै स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई खबर पुग्यो। इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा खटिएको सुरक्षा टोली तत्कालै घटनास्थलमा पुग्यो। आगोको राप अत्यधिक भएका कारण नियन्त्रणमा लिन केही समय निकै चुनौतीपूर्ण बन्यो।
त्यसपछि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एकवटा दमकल घटनास्थलमा परिचालन गरियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासपछि बिहान सवा आठ बजे मात्र आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भयो।
आगलागीमा परेर स्थानीय र भारतीय नागरिकसहित आठ जना मजदुरहरू घाइते भएका छन्। घाइते हुनेहरूमा बाँके जानकी गाउँपालिका–५ का शिवप्रसाद चमार, रामदिन हरिजन, प्रेम धोबी, दिलीपकुमार यादव र लक्ष्मीराम यादव रहेका छन्। त्यस्तै, भारतको बहराइच जिल्लास्थित कठौतियाका राजकुमार निषाद, नशिवकुमार निषाद र विनोदकुमार निषाद पनि घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकामध्ये अवस्था केही गम्भीर देखिएका शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि बिहान पौने ९ बजे नै भारतको लखनउ रिफर गरिएको छ। अन्य छ जना घाइतेहरूको भने नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
कारखानामा भएको यो ठूलो दुर्घटनाले भौतिक संरचना र फलाम पगाल्ने भट्टीहरूमा ठूलै क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि, आगोका कारण भएको कुल आर्थिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।















