ब्याज आम्दानीमा दबाबबीच कृषि विकास बैंकको ऐतिहासिक फड्को: खुद नाफा १८०३% ले बढ्यो, कस्ता छन् अन्य सूचक ?
काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा कृषि विकास बैंककाे नाफामा उछाल आएकाे छ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंककाे नाफा १८०३.७१ प्रतिशतले बढेकाे हाे ।
बैंकले समीक्षा अवधिमा १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा ५७ लाख ३८ हजार रुपैयाँमा सीमित रहेको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि घाटाबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख ३३ हजार रुपैयाँ सञ्चालन नोक्सानी (घाटा) व्यहोरेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा १५ करोड ६० लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ। कर्जा जोखिम बापत छुट्याइने इम्पेयरमेन्ट खर्च १ अर्ब ४६ करोड ३८ लाख ५३ हजार रुपैयाँबाट २०.८० प्रतिशतले घटेर १ अर्ब १५ करोड ९४ लाख ४३ हजार रुपैयाँमा झरेपछि सञ्चालन मुनाफा धनात्मक बनेको हो।
यस अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भने केही संकुचन आएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४५ करोड ३७ लाख २४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड २५ लाख ७० हजार रुपैयाँमा झरेको छ।
यद्यपि, गैर-ब्याज आम्दानीतर्फ खुद शुल्क तथा कमिसन आम्दानी ५५.७४ प्रतिशतले उल्लेख्य वृद्धि भई ४७ करोड ९७ लाख २१ हजार रुपैयाँ पुगेको छ। शुल्क आम्दानीमा आएको आकर्षक वृद्धिकै कारण बैंकको कुल सञ्चालन आम्दानी ८.८६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड ७४ लाख ७५ हजार रुपैयाँ पुगेको छ।
नाफामा आएको फड्कोसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ पैसा मात्र रहेको प्रतिसेयर आम्दानी बढेर ३ रुपैयाँ ५ पैसा पुगेको छ।
बाँड्न मिल्ने नाफा (वितरणयोग्य मुनाफा) तर्फ भने संकुचन देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनाको अन्त्यमा २ अर्ब ४८ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको कुल वितरणयोग्य मुनाफा ६८.२९ प्रतिशतले घटेर ७८ करोड ८० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको पहिलो त्रैमासको वितरणयोग्य रकम ४७ करोड ४१ लाख ५६ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
व्यवसाय विस्तारतर्फ समीक्षा अवधिमा बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह दुवैमा सामान्य सुधार देखिएको छ। गत असार मसान्तसम्म ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ रहेको कुल निक्षेप संकलन ०.३० प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब २७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट १.३३ प्रतिशतले वृद्धि भई २ खर्ब ५० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।
समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात सामान्य बढेर ४.७९ प्रतिशत पुगेको छ। यस्तै, बैंकको पुँजीकोष अनुपात १२.५५ प्रतिशत, आधार दर ४.५९ प्रतिशत र ब्याजदर स्प्रेड ३.३७ प्रतिशत रहेको छ।















