नेपाल बैंक र फिनतारा सोलुसन्सबीच सम्झौता: क्रेडिट कार्डबाट शून्य प्रतिशत डाउन पेमेन्टमै इएमआई सुविधा
काठमाडौँ। नेपाल बैंक लिमिटेड र ‘बाई नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ‘वानबीएनपीएल’ (ONEBNPL) सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्सबीच बैंकका क्रेडिट कार्डबाहकहरूलाई तत्काल किस्ताबन्दी (ईएमआई) सेवा उपलब्ध गराउने सम्झौता भएको छ।
काठमाडौँस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्ड बाहकहरूले ‘वानबीएनपीएल’ को व्यापारिक सञ्जालमार्फत वस्तु तथा सेवा खरिद गरी शून्य प्रतिशत डाउन पेमेन्टमा ३ देखि १८ महिनासम्मको सहज किस्तामा भुक्तानी गर्न सक्नेछन्।
‘वानबीएनपीएल’ को सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट तथा होलिडे प्याकेज प्रदायकलगायत १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन्। यस सुविधामार्फत क्रेडिट कार्ड बाहकहरूले एकमुष्ट ठूलो रकम भुक्तानी बिना दैनिक तथा आवश्यक खरिद सहज रूपमा गर्न सक्नेछन्।
सम्झौताप्रतिको आफ्नो धारणा राख्दै नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत प्रदीप कुमार पाठकले भने, “उदीयमान फिनटेक कम्पनीसँगको यस्तो साझेदारीमार्फत हामीले आफ्ना क्रेडिट कार्ड बाहकहरूलाई आधुनिक डिजिटल ‘बाई नाउ पे लेटर’ सेवा उपलब्ध गराउने लक्ष्य राखेका छौँ।”
त्यस्तै, फिनतारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष के. शर्माले भने, “देशभर सबैभन्दा ठूलो ग्राहक आधार भएको सरकारी बैंकमार्फत ‘वानबीएनपीएल’ सेवा सुरु हुनु कर्जामा अभिवृद्धि गर्ने दिशामा एउटा कोशेढुङ्गा हो। यसले क्रेडिट कार्डको प्रयोगमार्फत न्यून लागतमा दैनिक आवश्यक खरिदलाई अझ सहज बनाउनेछ।”
नेपाल बैंक लिमिटेडका रिटेल कर्जा विभाग प्रमुख अर्जुन बहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले पनि ग्राहकका बदलिँदा आवश्यकता पूरा गर्न फिनटेक कम्पनीसँगको साझेदारीमा यस्तो तत्काल किस्ताबन्दी सेवा उपलब्ध गराउनुको महत्त्वमा विशेष जोड दिए।
यस नवीन सेवाका मुख्य विशेषताहर अन्तर्गत नेपाल बैंकका योग्य क्रेडिट कार्ड बाहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमै किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले आफ्नो सुविधा अनुसार ३ देखि १८ महिनासम्मको लचिलो भुक्तानी अवधि चयन गर्न पाउने व्यवस्था गरिएको छ। यो सेवा खुद्रा व्यापार, मोबाइल तथा ग्याजेट, घरायसी सामान, स्वास्थ्य, रिसोर्ट तथा भ्रमण प्याकेज जस्ता विभिन्न क्षेत्रलाई समेट्ने गरी १५० भन्दा बढी अनलाइन तथा अफलाइन साझेदार व्यापारिक प्रतिष्ठानहरूमा उपलब्ध गराइएको छ।















