१९ कार्तिक २०८३, बिहिबार

नेपाली हिप-हपलाई नयाँ मञ्च दिँदै ‘हसल बाइ नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर



काठमाडौँ। नेपाली हिप-हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाइ नेपहप’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘हसल बाइ नेपहप’ लाई टीभीएस एनटर्क प्रिजेन्ट्सको रूपमा प्रस्तुत गरिनेछ । कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप-हप पहिचान रहनेछ ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ । स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप-हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित टीभीएस एनटर्कले यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको टीभीएस एनटर्कको यो सहकार्यले नेपाली हिप-हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

‘गल्लीदेखि ग्लोरीसम्म’ (गल्ली टु ग्लोरी) भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाइ नेपहप’ ले नेपाली हिप-हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ ।