२ मंसिर २०८३, बुधबार

२२औँ वार्षिकोत्सव मनाउँदै शिखर इन्स्योरेन्स, ३ अर्ब बढी चुक्ता पुँजी र ३० अर्बभन्दा बढी दाबी भुक्तानीसहितको बलियो यात्रा



शिखर इन्स्योरेन्सले २२ वर्ष पूरा गर्दै वित्तीय सबलता, उत्कृष्ट सेवा र ग्राहकको विश्वासका आधारमा नेपालको निर्जीवन बीमा क्षेत्रको नेतृत्वलाई अझ सुदृढ बनाएको छ।

काठमाडाैँ । स्थापनाकालदेखि नै भरपर्दो बीमा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता, निरन्तरको प्रगति र ग्राहकको गहिरो विश्वासका साथ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २२ वर्ष पूरा गरेको छ। सन् २००४ मा नेपालको १४औँ निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित यो संस्था आज वित्तीय सबलता, उत्कृष्ट सेवा र विश्वासका बलमा मुलुकको अग्रणी निर्जीवन बीमा कम्पनी बन्न सफल भएको छ।

शुरुवातमा १० करोड रुपैयाँ चुक्ता पुँजीबाट आफ्नो यात्रा थालेको यस कम्पनीले आफ्नो पुँजीगत आधारलाई बढाएर ३ अर्ब १० करोड रुपैयाँ पुर्‍याएको छ, जुन नेपालका निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो। यस्तै, सुरुमा १३ करोड रुपैयाँ रहेको प्रिमियम संकलन आर्थिक वर्ष २०८२/८३ मा आइपुग्दा ६ अर्ब ५१ करोड रुपैयाँमा पुगेको छ।

वार्षिक प्रिमियम संकलनलाई १ अर्बबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्‍याउने यो पहिलो निर्जीवन बीमा कम्पनी पनि हो। १३ प्रतिशतभन्दा बढीको बजार हिस्सा ओगटेको शिखर इन्स्योरेन्सले विगत एक दशकभन्दा बढी समयदेखि यस उद्योगमा आफ्नो अग्रता कायम राख्दै आएको छ।

बीमाप्रदायकप्रति बीमितको विश्वास कायम राख्ने मुख्य आधार भनेको समयमै हुने दाबी भुक्तानी हो। स्थापनाकालदेखि नै शिखर इन्स्योरेन्सले यो मर्मलाई आत्मसात् गर्दै दुई लाखभन्दा बढी दाबी फछ्र्यौट गरिसकेको छ र बीमितहरूलाई ३० अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ।

विनासकारी गोरखा भूकम्पदेखि जेन्जी आन्दोलनका कारण उत्पन्न क्षति तथा अन्य विपद्का घटनाहरूसम्म, कम्पनीले आफ्ना ग्राहकलाई कठिन परिस्थितिमा सधैँ साथ दिँदै आएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्र कम्पनीले ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी फछ्र्यौट गरी संकटको घडीमा समयमै आर्थिक सहयोग पुर्‍याउने आफ्नो प्रतिबद्धता फेरि एकपटक प्रमाणित गरेको छ।

सुदृढ वित्तीय सुरक्षा र प्रविधिको प्रयोग

कम्पनीले एक सशक्त पुनर्जी बीमा (रिइन्स्योरेन्स) कार्यक्रममार्फत आफ्नो वित्तीय सुरक्षालाई अझ बलियो बनाएको छ। यसका सबै विदेशी ट्रिटी पुनर्जीमा कम्पनीहरू ‘ए’ वा सोभन्दा माथिल्लो रेटिङ प्राप्त गरेका छन् भने कम्पनीले उद्योगकै सबैभन्दा बलियो विपद् पुनर्जी बीमा कभर कायम राखेको छ।

सुरक्षा, विश्वसनीयता र उच्च कार्यक्षमताप्रतिको यही प्रतिबद्धतास्वरूप इक्रा नेपालले शिखर इन्स्योरेन्सलाई नेपालका बीमा कम्पनीहरूमध्येकै सर्वोच्च ‘डबल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ।

बीमा सेवालाई थप सहज र सुलभ बनाउन प्रविधिको महत्त्वलाई बुझ्दै कम्पनीले डिजिटल सेवाको क्षमतालाई अगाडि बढाएको छ। ‘डिजिटल शिखर’ मार्फत ग्राहकहरूले घर बसीबसी नै अनलाइनबाटै बीमा पोलिसी खडा तथा नवीकरण गर्न, भुक्तानी गर्न र दाबी प्रक्रिया अघि बढाउन सक्छन्। ग्राहकको सहायताका लागि यी सेवाहरूलाई २४ घन्टे कल सेन्टरले समेत सहयोग पुर्‍याइरहेको छ।

सुरक्षा, विश्वसनीयता र उत्कृष्ट कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै शिखर इन्स्योरेन्स नेपालमा आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्ने एक मात्र निर्जीवन बीमा कम्पनी बनेको छ।

अर्थतन्त्रमा योगदान

विगत वर्षहरूमा कम्पनीले मानिस र व्यवसायसम्म बीमा पुर्याउन आफ्नो राष्ट्रिय उपस्थिति र सेवा क्षमतालाई व्यापक रूपमा विस्तार गरेको छ। हाल शिखर इन्स्योरेन्सले सातै प्रदेशका ७१ जिल्लामा फैलिएका १२९ वटा कार्यालयहरूको सञ्जालमार्फत ३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। यसको सम्पूर्ण सेवा सञ्चालनमा ६८१ जना कर्मचारीहरू खटिएका छन्, जसमध्ये करिब ४० प्रतिशत महिला कर्मचारी रहेका छन्।

आफ्नो वित्तीय वृद्धिसँगै शिखर इन्स्योरेन्सले बीमाको पहुँच बढाएर र मुलुकको आर्थिक सुदृढतामा सहयोग पुर्याएर नेपालको बीमा क्षेत्रलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। ७८ वटा बीमा उत्पादनहरूको पोर्टफोलियोमार्फत कम्पनीले सम्पत्ति, मोटर, सामुद्रिक, इन्जिनियरिङ, उड्डयन र कृषिसहित विभिन्न क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ।

यसका सेवाहरूले देशैभरका व्यक्ति, व्यवसाय, उद्योग र समुदायहरूको जोखिम व्यवस्थापनसम्बन्धी आवश्यकतालाई पूरा गर्छन्। यसबाहेक, ५ अर्ब १० करोड रुपैयाँ पुगेको यसको लगानी पोर्टफोलियोले पर्यटन, कृषि र जलविद्युत जस्ता प्रमुख आर्थिक क्षेत्रहरूमा योगदान पुर्याएको छ। राष्ट्रिय राजस्वमा कम्पनीले पुर्याएको योगदानको आन्तरिक राजस्व विभागले समेत कदर गरेको छ।

चुनौती र दृढ संकल्प

यो महत्त्वपूर्ण काेशेढुङ्गा पार गरिरहँदा शिखर इन्स्योरेन्सले आफ्नो यो यात्रा र सफलता आफ्ना बीमित, सेयरधनी, कर्मचारी, अभिकर्ता, व्यावसायिक साझेदार र अन्य सम्पूर्ण सरोकारवालाहरूको निरन्तरको विश्वास र सहयोगका कारण मात्र सम्भव भएको कुरा स्वीकार गरेको छ।

उनीहरूको यही भरोसा नै कम्पनीको वृद्धिको केन्द्रबिन्दु र भावी आकांक्षाको आधारशिला भएकाे कम्पनीले एक वक्तव्य निकालेर बताएकाे छ।

आगामी दिनमा शिखर इन्स्योरेन्सले प्राविधिक विकासलाई आत्मसात् गर्दै, बीमाको पहुँचलाई थप फैलाउँदै, दाबी व्यवस्थापनलाई चुस्त बनाउँदै र ग्राहक केन्द्रित सेवाहरू प्रदान गर्दै आफ्नो यो विरासतलाई अझ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको छ।

आफ्नो यात्राको यो नयाँ अध्यायमा प्रवेश गर्दा कम्पनीले एक सुरक्षित, आर्थिक रूपले संरक्षित र जोखिम सहन सक्षम नेपाल निर्माणमा अझ ठूलो भूमिका खेल्ने अङ्गीकार गरेको छ।