१ मंसिर २०८३, मंगलबार

सुस्ताउँदै भारतीय अर्थतन्त्र, चालु आर्थिक वर्षको वृद्धि दर ७.१ प्रतिशतमा सीमित हुने इक्राको प्रक्षेपण



काठमाडाैँ । नेपालमा समेत मुख्य रूपमा काम गरिरहेकाे भारतीय रेटिङ एजेन्सी इक्राले सोमबार सार्वजनिक गरेको अनुमानअनुसार चालु आर्थिक वर्षको सन् २०२६ को जुलाई-सेप्टेम्बर महिना (दोस्रो त्रैमासिक) मा भारतको अर्थतन्त्र वार्षिक आधारमा ७.५ प्रतिशतले बढ्ने देखिएको छ।

यो गत त्रैमासिकमा रहेको ७.८ प्रतिशतको तुलनामा केही सुस्त चाल हो। यद्यपि, यो आँकडा यस अवधिमा केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिले राखेको ७.२ प्रतिशतको प्रक्षेपणभन्दा भने बढी नै हो। अर्थतन्त्रमा आएको यो सुस्तता सेवा, उद्योग र कृषि गरी तीनै वटा प्रमुख क्षेत्रमा देखिएको छ।

पहिलो त्रैमासिकमा १० प्रतिशत रहेको सेवा क्षेत्रको वृद्धिदर घटेर ९.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। यसैगरी, औद्योगिक वृद्धिदर ७.७ प्रतिशतबाट घटेर ७.२ प्रतिशतमा झरेको छ भने कृषि क्षेत्रको वृद्धिदर पहिलो त्रैमासिकको ३.६ प्रतिशतबाट घटेर शून्य दशमलव २ प्रतिशतमा खुम्चिएको छ।

यी समग्र अवस्थाका कारण कूल मूल्य अभिवृद्धि (जीभीए) को वृद्धिदर पनि अघिल्लो त्रैमासिकको ८.२ प्रतिशतबाट घटेर ७.२ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

कृषिको कमजोर नतिजा

भारतीय अर्थतन्त्रमा सबैभन्दा ठूलो धक्का कृषि क्षेत्रले व्यहोर्नु परेको छ। दक्षिण-पश्चिम मनसुनको वर्षा सन्तोषजनक नहुँदा गत वर्षको तुलनामा यसपटक खरीफ बाली लगाइने क्षेत्रफलमा १ प्रतिशतले कमी आयो भने धानखेतीको क्षेत्रफल नै ३.५ प्रतिशतले घट्यो।

विशेषगरी कर्नाटक, आन्ध्र प्रदेश, तेलङ्गाना र तामिलनाडूजस्ता राज्यहरूमा बाली लगाइने क्षेत्रमा उच्च गिरावट देखिएको छ। अर्कोतर्फ, औद्योगिक क्षेत्रमा सवारीसाधनसम्बन्धी उत्पादन, विद्युतीय उपकरण र पेट्रोलियम पदार्थको बलियो प्रदर्शनका कारण उत्पादनमूलक क्षेत्रको परिमाणगत वृद्धि ८.१ प्रतिशतको उच्च बिन्दुमा पुग्यो।

कम वर्षाका कारण विजुलीको माग बढेपछि उपयोगिता सेवाहरूको उत्पादन पनि बढेर १० दशमलव शून्य प्रतिशत पुग्यो। यद्यपि, खानी क्षेत्रको उत्पादन भने पहिलो त्रैमासिकको एक दशमलव २ प्रतिशतबाट अझ बढेर तीन दशमलव ९ प्रतिशतले सङ्कुचनमा पर्यो। सरकारी खर्चको प्रवृत्ति भने मिश्रित रह्यो।

पहिलो त्रैमासिकमा २३.७ प्रतिशत रहेको केन्द्रीय सरकारको पूँजीगत खर्चको वृद्धिदर दोस्रो त्रैमासिकमा घटेर २.८ प्रतिशतमा सीमित भयो भने गैर-ब्याज राजस्व खर्च शून्य दशमलव ८ प्रतिशतले घट्यो।

आगामी दिनहरूको आर्थिक चाललाई विश्लेषण गर्दै इक्राले वर्षको उत्तरार्धमा अर्थतन्त्र थप मन्द हुने आकलन गरेको छ। कम वर्षाका कारण ग्रामीण क्षेत्रको मागमा आएको कमी, बढ्दो महँगी, उत्पादन लागतमा भएको वृद्धि र गत वर्षको जीएसटी दर समायोजनका कारण यसपालि अनुकुल आधार नभएकाले वृद्धिदर सुस्त हुने बताइएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै इक्राले चालु आर्थिक वर्ष २०२७ को समग्र कूल गार्हस्थ उत्पादनको वृद्धिदर ७.१ प्रतिशत रहनेछ भनेर नयाँ सीमा निर्धारण गरेको छ।