सुरक्षा परिषद बैठक चल्दै, संकटकाल लाग्न सक्ने, ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्तारुढ नेकपाका माधव नेपाल र पुष्पकमल दाहाल पक्षले स्थायी समिति बैठक शुरु भएको छ ।
प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको नेताहरुले बताएका छन् । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् ।
प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले आज विहान बसेको मन्त्रिपरिषद बैठकमार्फत संसद विघटनको प्रस्ताव गरेका थिए । ४५ सदस्यी नेकपा स्थायी समितिमा ओली पक्षका १३ नेता मात्रै छन् ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले सुरक्षा परिषदको बैठकमा व्यस्त छन् ।
सुरक्षा परिषदको बैठकमा मुलुकमा संकटकाल लगाउने विषयमा छलफल भएको बताइएको छ । सुरक्षा अधिकारीको ब्रिफिङपछि मात्रै यसबारे ठोस निर्णय आउने बुझिएको छ ।