कामना सेवाको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १४औं वार्षिक साधारण सभा पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ड, काठमाडौँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ४.४० प्रतिशत बोनस शेयर र ०.२३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ४.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
त्यस्तै, सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिने छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
