मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रदेश १ मा ९३ सांसद छन् । नेकपासँग ६७ सांसद मध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद र मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।
त्यस्तै, प्रदेश १ का ३ जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन् ।
अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका हुन् ।