हालसम्मकै सबैभन्दा ठूलो आइपीओमा आवेदन दिने अन्तिम दिन, मागभन्दा २ गुणा बढी आवेदन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गरेको ८ अर्बको आईपिओमा आवेदन दिने आज अीनतम दिन हो । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार हिजो साँझसम्ममा बैंकको आइपीओमा ११ लाख ७७ हजार ९२० जना आवेदकले १४ करोड १९ लाख ९६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । कुल १४ अर्ब १९ करोड ९६ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीको आइपीओमा मागभन्दा २ गुणा बढी आवेदन परेको छ ।बैंकले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने जनाएको छ । उक्त आईपिओ छिटोमा आज माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुने जनाएको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
प्रतिकित्ता १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। यो हालसम्मकै ठुलो आइपीओ भएकाले एक जनालाई ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ। त्यसर्थ न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने सम्भावना छ । चुक्ता पुँजि २० अर्ब लक्ष्य राखेर स्थापना गरिएको बैंकको १२ अर्ब संस्थापक शेयरधनीहरुको लगानी रहेको छ भने ८ अर्व सर्वसाधारणको लगानी गरिने शेयर संरचना छ । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि २० अर्ब पुग्नेछ ।












