२९ श्रावण २०८३, शुक्रबार

नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले १८.५ प्रतिशत लाभांश पारित गरिएको छ । माघ ८ गते सम्पन्न बैंकको ३४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद गरी कूल १८.५ प्रतिशत लाभांश पाउने छन् । साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका थिए । बैंकले महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०७६।०७७ मा बैंकका प्रमुख उपलब्धी, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिका बारेमा छलफल भएको थियो ।

यस वर्ष बैंकले ३ अर्ब ५१ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६।०७७ मा बैंकको खुद नाफा २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६।०७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्ब रुपैयाँबाट वृद्धि भई १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्बबाट वृद्धि भइ १४१ अर्ब रुपैयाँ पुगेको छ ।