२४ वटा माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ५२ वटा माइक्रोफाइनान्स कम्पनीमध्ये हालसम्म २४ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । पुस मसान्त सकिँदा पनि २८ वटा कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गरेका कम्पनीको सबैभन्दा बढी आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगदसहित ३१.५८ प्रतिशत लाभांश दिने भएको हो । सबैभन्दा कम सिभिल लघुवित्त वित्तीय संस्थाले ३.६८ प्रतिशत लाभांश दिने भएको छ । जसको बोनस ३.५ प्रतिशत रहेको छ ।
गत आवको नाफाबाट सेयरधनीहरूलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीको संख्या १३ वटा छ । ९ वटा कम्पनीको १० देखि २० छ भने २ वटा कम्पनीको लाभांश त्योभन्दा कम छ । यो अवधिमा लाभांश घोषणा गरेका कम्पनीमा सबैभन्दा बढी बोनस दिनेमा ओमी माइक्रोफाइनान्स छ । ओमीले बोनसमात्रै ३० प्रतिशत दिन लागेको हो । ओमीपछि धेरै बोनस दिने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । कम्पनीले २७.४७ प्रतिशत बोनस दिने भएको छ । त्यसपछि फरवार्ड कम्युनिटी र साना किसान विकास बैंकले २५ प्रतिशत लाभांश दिन लागेको छ । यस्तै, छिमेकले २२ प्रतिशत, नेशनल माइक्रोफाइनान्सले २१, समताले २० प्रतिशत बोनस दिने भएका छन् । कम्पनीहरूले गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछिमात्रै लगानीकर्ताले पाउनेछन् ।














