हिमालयन बैंकको नाफामा भारि गिरावट, १ अर्बभन्दा बढीले घट्यो नाफा, प्रतिशेयर आम्दानी ४१ रुपैयाँबाट १२ मा झर्यो
काठमाडौं । बिग मर्जरको तयारीमा रहेको हिमालयन बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२.५० प्रतिशतले कमी आएको छ । यसरी बैंकको नाफा घट्दा बैंकको बिग मर्जरमा पनि प्रभाव पर्ने देखिएको छ । गत आर्थिक वर्षको यस अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरको थियो तर यस बर्ष सोही अवधिमा ६५ करोड ३२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको १ अर्बभन्दा बढीले घटेको हो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा सिमित भएको छ । त्यस्तै अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ । बैंकको सञ्चालन नाफा गत वर्ष २ अर्ब ११ करोड रुपैयाँ रहेकोमा यस बर्ष घटेर ९८ करोडमा झरेको छ ।
बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ र कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको र जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी पनि ४० रुपैयाँ ९० पैसाबाट घटेर १२ रुपैयाँ २३ पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात बढेर ४७.१० गुणा पुगेको छ ।













