गृह मन्त्रालयको सीडीओहरुलाई परिपत्र : मास्क अनिवार्य गर्न र भीडभाड हुन नदिन निर्देशन
काठमाण्डौ । छिमेकि मुलुक भारतमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि कोरोना संक्रमण थप फैलिन सक्ने अनुमान गर्दै सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
आज गृह मन्त्रालयले परिपत्र जारी गदै मास्क अनिवार्य गर्न र भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी सीडीओ हरुलाई निर्देशन दिएको छ ।यसअघि चैत ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण बढ्ने सम्भावना रहेको भन्दै सभा तथा सम्मेलन गर्न रोक लगाउन भनेको थियो।
साथै गृह मन्त्रालयले परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।साथै यसअघि शैक्षिक संस्था, सरकारी भवन र संघ–संस्थाको भवनमा क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको थियो। त्यतिबेलाका क्वारेन्टिन र आइसोलेसनलाई गृह मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका सीडीओहरुलाई निर्देशन समेत दिएको छ ।
सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्न प्रजिअहरुलाई निर्देशन समेत दिइएको छ ।













