लघुवित्तमा डिजिटल बैंकिङ कारोबार मिर्मिरे लघुवित्तबाट शुरु भयो, घरबाटै २ दर्जन सेवा दिने

काठमाडौं । कोरोना संक्रमणदर दैनिक बढिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ ।कोरोना रोकथाम गर्न सदस्यहरुले घरबाट नै कारोवार गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ शुरु गरेको हो । डिजिटल बैंकिङ कार्यको लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी दिए ।
नेपाल सरकार तथा नीयामक नीकाय नेपाल राष्ट्र बैंकले वर्क फ्रम होम र क्यास लेस कारोवारको लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको उनले बताए । सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशी बिच डिजिटल बैंकिङ सेवाको लागि सम्झोता पत्रमा हस्ताक्षर समेत भईसकेको छ ।
डिजिटल बैंकिङ अन्तर्गत सदस्यहरुले कारोवारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमा नै बसेर आफ्नो खाताको जानकारी लिने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोवाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका वीलहरु घरमा नै बसेर भुक्तानी गर्न पाउने लगायत दुई दर्जन बढि सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।
विश्व आफै प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अंगाल्दै आगामी दिनमा घरमा नै बसेर सदस्यहरुले कर्जाको लागि आवेदन दिन सकिने टोल टोलमा नै स्पट बैंकिङ अन्तर्गत बचत राख्न र निकाल्न पाउने, लगायतका सेवाहरु विस्तार गर्दै लान सकिने संस्थाका अध्यक्ष बोहराले बताए । संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नुपर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउनको लागि सबै सदस्यहरुलाई आग्रह समेत गरे ।