निर्वाचन प्रतिगमन होईन बरु सफल पार्न सबै दल सरकारमा आउनुस्ः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन सफल पार्नका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरे ।
उनले भने ‘मैले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो, देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प थिएन ।’
प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको तर प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने भएको प्रतिनिधि सभा भंग गरिएको उनले बताए ।












