प्रधानमन्त्रीविरुद्ध गोड्से झैँ बन्न तयार रहेको अभिव्यक्ति दिएका प्रदेश सांसद वैद्य विरुद्ध जाहेरी दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध बागमती प्रदेश सभाको अधिवेशनमा महात्मा गान्धी हत्यारा नाथुराराम गोड्से झैँ बन्न तयार रहेको अभिव्यक्ति दिएका प्रदेश सांसद नरोत्तम वैद्य विरुद्ध अपराध दुरुत्साहनको जाहेरी दर्ता भएको छ । यस्तो अभिव्यक्ति दिएर विवादमा आएका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेपनि उनीविरुद्ध अपराध दुरुत्साहनको जाहेरी दर्ता भएको हो । प्रदेश सभामै हिंसात्मक अभिव्यक्ति दिएपछि पार्टीले माफी माग्न निर्देशन दिएपछि वैद्यले विज्ञप्ति नै निकालेर माफी मागेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आइतबार युवा सङ्घ मकवानपुरका सदस्य नवीन काफ्लेले मुलुकी अपराध संहिता अनुसार दुरुत्साहनको जाहेरी दिएका हुन् । प्रदेश सभामा बोलेको विषयलाई आधार बनाएर हत्या दुरुत्साहनको जाहेरी आएपछि प्रक्रिया अनुसार दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
प्रदेश सांसद वैद्यले मुलुकी अपराध संहिता २०७४ को दफा ३५ को उपदफा १ र २ उलङ्घन गरेको दाबी जाहेरीमा गरिएकाले सोही अनुसार कानुनी कारबाहीको माग गरिएको छ ।
संविधानले संसदमा जनप्रतिनिधीलाई जेसुकै बोल्न छुट दिएको छ । संसदमा बोलेको विषयमाथि अदालतमा मुद्दा नलाग्ने व्यवस्था गरिएको छ । तर संसदबाट कसैलाई हत्याको धम्कि दिन पाइने कि नपाइने भन्ने स्पष्ट छैन ।
यो मुद्दा अघि बढ्न सक्यो भने संसदीय विशेषाधिकारको वाक स्वतन्त्रतामा सीमा लाग्छ कि लाग्दैन भन्ने प्रष्ट हुन्छ ।















