पैसाको जोहो गर्नुहोस्ः जीवन विकास लघुवित्तले भोलिदेखि आईपीओ बिक्री गर्दै, कति कित्तासम्म आवेदन दिन पाइन्छ ? « Arthapath.com
१० असार २०७८, बिहीबार

पैसाको जोहो गर्नुहोस्ः जीवन विकास लघुवित्तले भोलिदेखि आईपीओ बिक्री गर्दै, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले भोलि असार ११ गते, शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले असार ११ गतेदेखि हाल कायम जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ ।

लघुवित्तले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्सकान गर्ने भएको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ ।

लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट साथै मेरोसेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्