टेलिकमको सेवा अबरुद्ध भएकोबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन « Arthapath.com
१० असार २०७८, बिहीबार

टेलिकमको सेवा अबरुद्ध भएकोबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं । बुधबार बिहान करिब साढे दुई घण्टा नेपाल टेलिकमको दूरसञ्चार सेवा अवरुद्ध भएको विषयलाई छानबिन गर्न सरकारले समीति गठन गरेको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सेवा अवरुद्ध भएको यस घटनालाई ‘नियोजित’ रुपमा लिइएको सरकारी अधिकारीहरले बताएका छन् ।

बुधबार विहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवा देशैभर एकसाथ अवरुद्ध भएको थियो । देशको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनीको सेवा एकाएक अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको थियो । यसबाट कम्पनीले करोडौं आम्दानी गुमाउन पुगेको टेलिकमका अधिकारीहरु बताउँछन् ।

उक्त घटनापछि टेलिकमले तत्कालै केही प्राविधिकहरुको अनुसन्धान टोलि गठन गरेको थियो । बुधबार विहान करीब साढे ८ बजे पुनः नेटवर्क स्थापित भएपछि उक्त छानबिन समितिले ‘नियोजित’ हुनसक्ने बताएको टेलिकम स्रोतले पुस्टि गरेको छ ।

उक्त अनुसन्धान समितिको प्रारम्भिक अनुमानका आधारमा टेलिकमको सञ्चालक समिति अध्यक्षसमेत रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधबार साँझ नै उच्चस्तरीय छानविन समिति गठन गरेका थिए । यसअघि नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले उच्च स्तरबाट छानबिन गरेर समस्या पहिल्याउन टेलिकमको उच्च प्रशासन र सञ्चालक समितिलाई आग्रह गरेको थियो ।

संगठनले बुधबार दिउँसो कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी र अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्याललाई ज्ञापनपत्र बुझाएको थियो । सोही आधारमा सञ्चालक समितिले टेलिकमको प्रमुख बाणिज्य अधिकृत (सीसीओ) प्रतिभा वैद्यको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

समितिलाई छानविनका लागि सात दिनको समय दिइएको छ । यस अवधिमा उक्त समितिले यस घटनाको कारण, दोषीको पहिचान, क्षतिको मूल्यांकन र त्यसको दायित्वबारे प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिइएको छ ।

छानबिन समितिमा पुल्चोक इन्जिनियरिङको तर्फबाट एक जना प्राविधिक, मन्त्रालयका एक जना प्राविधिक, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तर्फबाट एक जना प्राविधिक, टेलिकमका उप-प्रबन्धक केपी भण्डारी, आन्तरिक लेखा परीक्षण विभागकी चाटर्ड अकाउन्टेन्ट शुभा कायस्थ सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्