२ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रका जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिलाई काम गर्न सर्वाच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भएपछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।