आईपीओ पाउन अब भाग्यकै भर !, जीवन विकासमा २० लाखको हात खाली

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओमा परेको आवेदनले २ वटा रेकर्ड ब्रेक गरेको छ । हालसम्म कै धेरै जनाले आईपीओमा आवेदन भरेको र मेरो सेयरबाट ९१ प्रतिशतले आवेदन दिएर २ वटा रेकर्ड बनाएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बताएका छन् ।
सीईओ आचार्यले भने, “२ हिसावले रेकर्ड ब्रेक गरेको छ, सबैभन्दा बढी २१ लख ८७ हजार ८८७ जनाले आवेदन दिएर नम्बरमा ब्रेक गर्यो भने अर्काे मेरो सेयरबाट ९१ प्रतिशतले आवेदन दिएर नयाँ रेकर्ड बनायो, यसअघि ८५ प्रतिशत जति थियो अहिले बढ्यो, पहिला १५ प्रतिशतले बैंकमा नै गएर भर्थे भने अहिले बढेका हुन् ।”
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिनेछ । १० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले मात्रै पाउनेछन् । आवेदन दिएकाहरुमध्ये २० लाख जनाको हात खाली हुने देखिएको छ । त्यसैले लघुवित्तको आईपीओ पाउन भाग्य कै भर पर्नुपर्ने देखिएको छ । आवेदन दिएकाहरुको भेरिफाइ गर्न बाँकि रहेकाले २१ लख ८७ हजार ८८७ जनामध्ये केही संख्या घटबढ हुनसक्छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।