थप बीमाको लाइसेन्स नदिने बीमा समितिको स्पष्टिकरण
काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको सूचना भ्रामक रहेको जनाएको छ । बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भनेर विभिन्न मिडियाहरुमा समाचार सार्वजनिक भएपछि त्यस्तो समाचारमा कुनै सत्यता नरहेको बताएको हो ।
बीमा समितिले स्पष्टिकरण दिँदै थप जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भन्ने समाचारहरु गलत रहेको बताएको हो । बीमा समितिले भनेको छ, “विभिन्न सञ्चार माध्यममा समितिले थप जीवन बीमा, निर्जीवन बीमा र लघुबीमालाई लाइसेन्स दिन लागेको भनी आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ, उक्त समाचारहरु असत्य, भ्रामक, र कपोकल्पीत र बीमा समितिलाई विवादमा पार्ने मनासायले प्रेरित रहेको देखिन्छ ।”
बीमा समितिले कुनैपनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र कुनै कामकारवाही समेत नगरेको स्पष्ट पारेको छ ।














