पाँच लाख घरधुरीमा पुग्यो वल्र्डलिंकको इन्टरनेट, एक तिहाइ ग्राहकको रोजाइ ! « Arthapath.com
१८ असार २०७८, शुक्रबार

पाँच लाख घरधुरीमा पुग्यो वल्र्डलिंकको इन्टरनेट, एक तिहाइ ग्राहकको रोजाइ !



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सको घरधूरी ग्राहक संख्या ५ लाख पुगेको छ । तीव्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको कम्पनीले जनाएको छ ।

नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गरिरहेको कम्पनीको दाबी छ । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वल्र्डलिंक एक्लैले प्रयोग गर्छ । वल्र्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रसहित नेपालका ७३ जिल्लामा पुगेको छ । वल्र्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।

यसै बिचमा वल्र्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आव २०७६÷०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मानसमेत पाएको थियो । वल्र्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । उसले करीब ४ हजार जनालाई रोजगारी दिएको छ ।

वल्र्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउदै आएको हो । दैनिक १ लाख ५१ हजारभन्दा बढीले निःशुल्क पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।

वल्र्डलिंक कम्युनिकेशन्समा बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको छ । वल्र्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आएको छ ।

सन् १९९५ मा डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट सुरु भएको वल्र्डलिंकले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएचजस्ता प्रविधिको माध्यमबाट अघि बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्