सिद्धार्थ क्यापिटलको खुलामुखी योजनाकाे आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । असार १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सिद्धार्थ क्यापिटलको खुलामुखी म्युचुअल फण्डमा आजदेखि बन्द गरिएको छ । उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले आज २० गते आइतबार, बैंकिङसमय पश्चात् बन्द गरिने जनाएको छ ।
सिद्धार्थ क्यापिटलले असार १६ गतेदेखि खुलामुखी म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलले सिदार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक योजना निष्काशन तथा बिक्री गरेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्री गरेको हो । कम्पनीले २ करोड इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँट भइसकेपछि खुद सम्पत्ती मूल्यका आधारमा तोकिएको प्रति इकाई मूल्यमा योजना व्यवस्थापन वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेता मार्फत दैनिक खुद सम्पत्ती मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर बिक्री तथा पुनर्खरिद गरिनेछ ।
योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।













