टीकटक चलाउनेलाई खुसीको खबर, ३ मिनेटसम्मको भिडियो पोस्ट गर्ने सुविधा आउँदै « Arthapath.com
२१ असार २०७८, सोमबार

टीकटक चलाउनेलाई खुसीको खबर, ३ मिनेटसम्मको भिडियो पोस्ट गर्ने सुविधा आउँदै



काठमाडौं । लोकप्रिय भिडियो शेयरिङ एप टीकटकमा १५ सेकेण्डको मात्रै भिडियो पोस्ट हुने भएकाले धेरैलाई धक फुकाएर ‘प्रतिभा प्रदर्शन’ गर्ने मौका नजुरेको हुनसक्छ । अब कम समयका कारण गायन वा अभियन पूरा नहुँदै छाड्नुपर्ने वा भिन्दाभिन्दै भिडियो बनाएर पोस्टिनुपर्ने बाध्यता हट्दै छ ।

टिकटकले अव तीन मिनेटसम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा दिने भएको छ । यसका लागि लामो समय पर्खनु पर्ने छैन । सम्भवतः आउँदो हप्ताबाटै टिकटकका पारखीहरुले यस्तो सेवा उपयोग गर्न पाउने छन् । अहिले टीकटकले कम्तिमा १५ सेकेण्ड र बढीमा एक मिनेटसम्मका भिडियो पोस्ट गर्न सक्ने सुविधा दिँदै आएको छ ।

कम्पनीले अव अधिकतम भिडियो सुविधालाई एक मिनेटबाट बढाएर तीन मिनेट बनाउन लागेको हो । कम्पनीका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले यस्तो परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउने बताएका छन् ।

सन् २०१८ मा पहिलो पटक सुरु भएको टिकटकले आफूलाई युट्युब लगायतका अन्य प्रतिस्पर्धी प्लेटफर्मभन्दा फरक प्रस्तुति दिँदै आएको छ । धेरै प्रयोगकर्ताले टिकटकमा केही समय थप होस् भन्ने इच्छा व्यक्त गरेकाले थप सुविधा प्रदान गरिएको टिकटकले बताएको छ ।

यसलाई कतिपयले युट्युबजस्ता प्लेटफर्मसँग बजार प्रतिस्पर्धा गर्ने टीकटकको नयाँ रणनीतिका रुपमा पनि हेरेका छन् ।

यद्यपि, केही प्रयोगकर्ता र विश्लेषकहरू भने लामो भिडियो पोस्ट गर्न मिल्ने गरी परिवर्तन गर्दा टिकटकको लोकप्रियतामा भारी गिरावट आउनसक्ने चेतावनी दिएका छन् ।

लामो भिडियो पोस्ट गर्न मिल्ने अन्य थुप्रै लोकप्रिय प्लाटर्फमहरू विद्यमान रहेको अवस्थामा टिकटकलाई पनि त्यस्तै बनाउँदा त्यसले टिकटकको मौलिकता नाश हुने उनीहरुको भनाइ छ । जसका कारण टीकटकको विद्यमान सफलता एवम् लोकप्रियता फिक्का हुने उनीहरूले चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्