१७ कार्तिक २०८३, मंगलबार

बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुने अर्थमन्त्रीकाे उद्घाेष



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा विगतका कमी कमजाेरी नदाेहाेर्याइ गतिलो नतिजा ल्याउने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नु पर्ने सबै काम र सहयोग गर्ने बताए ।

सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउन सकिने उनले बताए। मन्त्री पाैडेलले बजेट कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन ल्याउने र नयाँ मानक स्थापित हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ-आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताए । उनले कार्य सम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुग्ने बताए । ‘कार्यसम्पादन सम्झौता देखाउन र प्रचार गर्नका लागि नभएर प्रतिष्पर्धाको भावना बढाउन गरिएकाे हाे’, उनले भने ।

महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरु पूरा गर्ने बताएका छन् । अर्थ मन्त्रालयका प्रबक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयहरुसँग छलफल गरिएको र आवश्यक निर्देशिकाहरु समेत निर्माण भइरहेको जानकारी दिए ।