घ्यू तेल किन्नै मुस्किल, खाद्यवस्तुको भाउ बढेको बढ्यै

काठमाडौं । कोरोना भाइरस महामारीका कारण विश्वभर खाने तेलको भाउ उकासिएपछि नेपाली उपभोक्ता पनि मारमा परेका छन् । पछिल्ला वर्षमा नेपालमा खाने तेलको आयातमा निर्भरता बढ्दै गएको छ । यस्तो बेला संसारभर नै तेलको भाउ बढेको छ । अधिकांश खाने तेलको भाउ अन्तरराष्ट्रिय बजारमा एक दशकयताकै तीव्र दरमा बढेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
नेपालले अधिक मात्रामा खाने तेल भारतबाटै किन्ने गरेको छ । भारतमा कुल उपभोग्य तेलमध्ये ६० प्रतिशतभन्दा बढी कच्चा तेल तेस्रो मुलुकबाट आयात हुन्छ । यही कारण नेपालमा पनि खाने तेलको भाउ असामान्य रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले विहीबार प्रकाशन गरेको मासिक प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्ममा नेपाली बजारमा घ्यू तेलको मूल्य अघिल्लो वर्षभन्दा ३१ प्रतिशत बढेको छ ।
तर बजारमा तेलको मूल्य योभन्दा निकै उच्च दरले बढेको देखिन्छ । घ्यू र तेलको मूल्यलाई एउटै टोकरीमा दाँज्ने राष्ट्र बैंकको अभ्यासले मूल्यबृद्धिको दर बजारको वास्तविकताभन्दा केही कम भएको हो । घ्यू तेलमात्र होइन, अघिकांश खाद्य वस्तुको मूल्य यो वर्ष चर्किएको छ ।
गैह्रखाद्य वस्तु तथा सेवाको मूल्यबृद्धि धेरै नबढे पनि खाद्य पदार्थको भाउ आकाशिएको हो । तरकारी, दाल तथा गेडागुडी र माछामासुको भाउ पनि ८ प्रतिशत हाराहारी महँगिएको छ । खाद्यान्नको भाउ भने ३ प्रतिशतभन्दा कम बढेको राष्ट्र बैंकले जनाएको छ । फलफूलको भाउ करीब ५ प्रतिशत र दूध तथा अण्डाको भाउ २ प्रतिशत महँगिएको छ ।
रक्सि रहित पेय पदार्थ र सुर्ति तथा चुरोटको भाउ पनि १० प्रतिशत हाराहारी बढेको छ । रक्सिको भाउ भने जेठ मसान्तसम्म ४ प्रतिशतमात्रै बढेको तथ्यांक राष्ट्र बैंकले दिएको छ । जबकी, सरकारले १६ जेठबाटै २० प्रतिशतसम्म कर बढाएपछि रक्सीको मूल्य भारीमात्रामा बढेको व्यवसायीहरुले बताएका छन् ।