दुई दशकभित्र गरिबी मुक्त गर्ने अर्थमन्त्रीको महत्वाकांक्षा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई दुई दशकभित्र गरिबी मुक्त गर्न सकिने बताएका छन् । चुनौतीपूर्ण अवस्थाका बीच पनि युवा बहुल जनसंख्या भएका कारण देशमा विकासको गतिलाई तीब्रता दिन सकिने उनले बताए ।
नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यमा देशमा गरिवी अन्त्य गर्न सकिने धारणा व्यक्त गरेका हुन् । परिसंघले अघि सारेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए ।
आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको उनले बताएका छन् । ‘देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ’, उनले भने, ‘त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।’
हाल सरकारले २ खर्ब १५ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान चलाउन थालेको उनले बताए । मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सरकारको सोंच कार्यान्वयनको लागि एकतावद्ध भएर अघि बढ्ने आग्रह गरे ।
निर्यातमुखी अर्थतन्त्रको विकास गर्न उत्पादित वस्तुको गुणस्तर र मूल्यको सन्तुलन कायम हुनुपर्ने उनले बताए ।















