कर्मचारी बोनशमा प्राइमलाई जितेर नेपाल इन्भेष्टमेण्ट बन्यो पहिलो बैंक, (यस्ताे छ २७ वाणिज्य बैंककाे कर्मचारी बाेनस दर)

काठमाडौं । कर्मचारीलाई बढी बोनश बाँड्ने दौडमा केही वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको प्राइम बैंकलाई यसपालि भने नेपाल इन्भेष्टमेण्टले उछिनेको छ । गत असार मसान्तको अपरिस्किृत (लेखापरीक्षण नभएको) वित्तीय विवरणहरुका आधारमा यस्तो देखिएको हो ।
हिमालन बैंकसँग मर्जरको तयारीमा रहेको इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारी खर्चको ५०.४ प्रतिशत बोनश बाँड्ने भएको हो । केही वर्षयता उच्च बोनश दिँदै आएको प्राइम बैंकले ४८.९ प्रतिशत बाँड्ने सामथ्र्य बनाएको छ ।
इन्भेष्टमेण्ट बैंकले गत वर्ष कर्मचारी बोनशमा ५७ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल कर्मचारी खर्च १ अर्ब १४ करोड ६० लाखको आधाभन्दा बढी हो । तर रकमका हिसाबले भने अहिले पनि कर्मचारी बोनशमा सबैभन्दा ज्यादा पैसा नबील बैंकले नै खर्च गरिरहेको छ ।
गत वर्षको नाफाबाट नबीलले कर्मचारी बोनशका लागि ७१ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ । त्यसपछि ग्लोबल आईएमईले ६५ करोड २५ लाख र राष्ट्रिय बाणिज्य बैंकले ६१ करोड ३ लाख रुपैयाँ बोनश बाँड्न छुट्याएका छन् । त्यसपछि कृषि विकास र नेपाल इन्भेष्टमेण्ट पनि उच्च अंकमा बोनश रकम छुट्याउने बैंक हुन् ।
तर कुल कर्मचारी खर्चको आकार हेर्ने हो भने एनआईसी एसिया सबैभन्दा अगाडी आउँछ । एनआईसीले गत आर्थिक वर्ष कर्मचारी खर्चमा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम प्राइम, सिभिल र स्ट्याण्डर्डचार्टर्डले कर्मचारी खर्चमा गरेको कुल खर्चको लगभग बराबर हो । त्यसपछि राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आईएमई, नबिल र कृषि विकास बैंकले कर्मचारीको तलबभत्ता र सुविधामा बढी पैसा खर्चिएका छन् ।
