स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको मन्दिर खुलाउन विश्व हिन्दू परिषदको माग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको मन्दिर खुलाउन विश्व हिन्दू परिषदको माग



काठमाडौं । पशुपतिनाथको मन्दिर खुलाउन विश्व हिन्दू परिषदले माग गरेको छ । परिषदले पशुपतिनाथको मन्दिर खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र पशुपति क्षेत्र विकास कोषलाई आज ज्ञापन पत्र बुझाएको छ ।

विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे, संगठन सचिव प्रल्हाद कुमार सहितको एक टोलीले आज जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ एवं पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा समेत सम्पूर्ण नेपालीहरू आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा पनि हालसम्म नियमित दर्शन–पूजा खुला नगरिनु अत्यन्तै गम्भीर एवं दुखद विषय हो विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

निश्चित समयसम्म स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर भगवान पशुपतिनाथको मन्दिर लगायत देशै भरिका मठ/मन्दिरहरुमा समेत नियमित दर्शन–पूजा खुला गर्न आवश्यक व्यवस्था मिलाउन हुन सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपालले आग्रह गरेको छ ।

कोरोना महामारीका कारण देशका विभिन्न मन्दिरहरुमा नियमित दर्शन–पूजा बन्द गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्