सेयर बजार फेरि घट्यो, साढे ७ अर्ब रुपैयाँको मात्रै कारोबार
काठमाडौं । सेयर बजार पुन घटेको छ । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार भने भारि अंकले बढेको थियो । तर मंगलबार पुनः बजार घटेको हो । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोनमार्फत सेयर बजार सम्वन्धि कार्य गर्न निर्देशन दिएका थिए । सोही कारण सोमबार नेप्से बढेको अनुमान गरिएको थियो । तर दोस्रो दिन नै बजार भारि अंकले घटेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार बजार १६० अंकभन्दा बढीले बढेको थियो । तर मंगलबार पुन पहिरो गएको हो । राष्ट्र बैंकले सेयर कर्जामा लगाईएको सीमाले गर्दा बजारमा प्रभाव परेको बताईएको छ ।

मंगलबार दिनभरिमा २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार कित्ता सेयर ८६ हजार पटक किनबेच हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार अन्य समूह र म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा राताम्य नै छाएको छ ।














