सिटिजन्स बैंकको अगुवाईमा आँखु खोला जलविद्युत निर्माण गर्न साढे ५ अर्ब लगानी « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

सिटिजन्स बैंकको अगुवाईमा आँखु खोला जलविद्युत निर्माण गर्न साढे ५ अर्ब लगानी



काठमाडौं । धादिङ्ग आँखु खोला हाइड्रो प्रालिद्वारा प्रवर्द्धित ३८ मेगावाट क्षमताको माथिल्लो आँखु खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, र सिभिल बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रवर्ध्दक कम्पनी एवम् बैंकहरुबीच असोज १२ गते वित्तीय व्यवस्था (फाइनान्सीयल क्लाेजर) सम्झौतामा हस्ताक्षर गरिएको छ ।

परियोजनाको अनुमानित लागत करीब रु. ७ अर्ब ३३ करोडमध्ये रु. ५ अर्ब ५० करोड बराबरको ऋण लगानी गर्ने सम्झाैता भएकाे हाे । कुल लागतकाे ७५ प्रतिशत रकम बैंक कर्जाबाट जुटाइने छ। बाँकी २५ प्रतिशत अर्थात् १ अर्ब ८३ कराेड रूपैयाँ भने प्रवर्ध्दकहरूले स्वपुँजी लगानी गर्ने छन् । याे आयोजनामा व्यवसायी अजयराज सुमार्गी लगायतकाे लगानी छ ।

आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइएकाे छ ।

निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोटस्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७ गिगावाटघन्टा र बर्खामा १५२.४३८ गिगावाटघण्टा गरी बार्षिक २१९.१३८ गिगावाटघण्टा (GWh) खुद विद्युत उत्पादन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्