कर्मचारी सञ्चय कोषका प्रशासकमाथि सरकारी पेलान, मन्त्रालय तानिए गौतम

काठमाडौँ । सरकार परिवर्तनको पेलानमा परेका कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम मन्त्रालय तानिएका छन् ।
बुधवार मन्त्री स्तरीय निर्णयद्वारा गौतमलाई मन्त्रालय हाजिर गराइएको पत्र अर्थपथले फेला पारेको छ । त्यस्तै निमित्त प्रशासकको जिम्मेवारी कोषका सेकेण्डम्यान रहेका जितेन्द्र धिताललाई तोकेको छ । गत भदौ ३ गते सरकारी बर्खास्तमा परेका गौतम अहिले पनि अदालत धाइरहेका छन् । उनको मुद्दाको पेशी सरेको सरै छ ।
गत भदौ २० गते नै अदालतबाट अप्लकालिन आदेश पाएका गौतमको पूर्ण फैसला भने भएको छैन । उनको फैसला आगामी कात्तिक १० गतेको लागी सरेको छ । तर अर्थ मन्त्रालयले उनी एकाले भएकै कारण विभिन्न बहानामा दुःख दिँदै आएको छ ।
यसअघिको ओली सरकारले ५ वर्षको लागी प्रशासकमा नियुक्त भएका गौतमको २० महिना कार्यकाल बाँकी छ । माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री बनेसँगै गौतम हटाइनेको लिस्टमा परे ।
गौतमलाई सरकारले बजेट कार्यान्वयन कार्य योजनामा उल्लेख भएबमोजिम कोषलाई उत्पादन वृद्धि रोजगारी सृजना गर्न र आर्थिक पुर्नरुत्थानलाई परिचालन गर्न मन्त्रालय काजमा हाजिर गराउने निर्णय भएको पत्र अर्थपथले फेला पारेको छ । । उनलाई अर्को व्यवस्था नभएसम्मका लागी काजमा मन्त्रालय पठाइएको छ ।