कामना सेवा विकास बैंकले बैंकिङ्ग क्षेत्रमै पहिलो पटक शुरु गर्यो दृष्टि जगेर्ना अभियान

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक कामना सेवा विकास बैङ्कले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । कामना सेवा विकास बैङ्कले दृष्टि जगेर्ना गर्न देशभरिका शाखामा चस्मा राखेर दृष्टि जगेर्ना अभियान सुरु गरेको हो ।
विश्व स्वास्थ्य सङ्घले ‘आँखालाई माया गरौँ’ भन्ने मूल नाराका साथ यस वर्षको आँखा दिवस मनाउने भएको छ । सोही अवसरमा नेपाल आँखा अस्पतालको सहकार्यमा कामना सेवा विकास बैङ्कले दृष्टि जगेर्ना अभियान सुरु गरेको हो ।

शुक्रवार बैङ्कको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दै दृष्टि जगेर्ना अभियान कार्यक्रमको सुरुवात गरेको हो । बैङ्कका अनुसार यस अभियानमा छोटो दूरी वा लामो दूरीको दृष्टि नदेख्ने समस्या भएका व्यक्तिहरूका लागि बैङ्कका शाखाहरूमा चस्मा राखिएको हुन्छ । उक्त चस्मा यूनीफोकल ग्लास भएकाले प्राय ४० वर्ष माथिका व्यक्तिहरूले प्रयोग गर्न सक्ने बैङ्कले जनाएको छ । कहिले काहीँ ग्राहकहरूले आफ्नो चस्मा बिर्सेर बैङ्कमा आउँदा लेख्न वा हेर्न समस्या नहोस् भन्ने हेतुले बैङ्कका सबै शाखामा चस्माको व्यवस्था गरिएको बैङ्कले बताएको छ । यस्तो व्यवस्था नेपाली बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक सुरु भएको बैङ्कले दाबी गरेको छ ।
धेरै व्यक्तिहरू बैङ्कमा आउँदा चस्मा लिएर नआउने वा बिर्सेर आउने र हस्ताक्षर बिग्रिने समस्या धेरै हुने भएकाले चस्मा प्रयोगले सहजता ल्याउने नेपाल आँखा अस्पतालका सिनियर हेल्थ एजुकेटर विमल पौड्यालले बताए । बैङ्कहरूमा ग्राहकहरूले भौचर भर्ने ठाउँमा वा चेक काट्दा चस्माको सहयोग लिन सक्ने उनको भनाई छ । यसअघि अन्य बैङ्कलाई यस्तो सुविधाको व्यवस्था गर्न सुझाव दिए पनि कसैले चासो नदेखाएको प्रति पौड्यालले गुनासो गरे । तर कामना सेवा विकास बैङ्कले सुरु गर्दा खुसी लागेको उनले बताए । उनले संसारभरि २०–२० को अवधारणा सुरु भएकाले २० मिनेट स्क्रिन हेर्दा २० मिनेट २० मिटर टाढाको बस्तुलाई हेर्दा आँखालाई रेस्ट पुग्ने टिप्स पनि दिए ।

ग्राहकलाई सेवा सुविधामा कसरी सहजता गर्न सकिन्छ भन्ने बैङ्कको सोचाइ अनुरूप शाखा कार्यालयमा चस्मा राख्दा पनि धेरै सुविधा पुग्ने विश्वास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतले लिएका छन् । सुरुमा उपत्यकाका शाखा कार्यालयमा यो अभियान सुरु गर्ने र त्यसपछि निरन्तर देशभरिका शाखामा विस्तार गर्ने सीईओ बस्नेतले जानकारी दिए । चस्मामा कुनै समस्या देखियो भने तत्काल रिप्लेसमेन्टको व्यवस्था गरिने उनको भनाई छ । कामना सेवाका विकास बैङ्क अहिले धेरै अगाडि बढिसकेको र भिजन २०–२८ को धेरै नजिक पुगेको उनी बताउँछन् ।
विद्यालय जाने विद्यार्थीहरूलाई बढी होमवर्क गर्ने, अन्य खेलकुद नखेलेर भिडियो गेम खेल्ने, मोबाइल फोन, ल्यापटप लगायतका स्क्रिन प्रयोग गर्ने व्यक्तिहरूमा आँखाको समस्या धेरै देखिने भएकाले समयमा नै सचेत हुनुपर्ने नेपाल आँखा अस्पतालका अध्यक्ष तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. गोपाल प्रसाद पोखरेलले बताए । अध्ययन गर्दा ४० वर्ष पुगेका ६०–७० प्रतिशत ब्यक्तिला नजिकको कुनै चिज लेखपढ गर्नको लागि चस्माको सहयोग आवश्यक देखिएको डा. पोखरेल बताउँछन् । आँखामा सामान्य समस्या आउँदा पनि किन अस्पताल जानुपर्यो भन्ने भ्रम आजैबाट हटाउनुपर्ने उनको सुझाव छ ।

कामना सेवा विकास बैङ्कले धेरै नयाँ कुराको सुरुवात गरेको बैङ्कका अध्यक्ष सुदिप आचार्य बताउँछन् । हेर्दाखेरि स–साना कुराहरू भए पनि तर यसको धेरै महत्त्व रहेको उनी बताउँछन् । बैङ्कहरूका भवन अपाङ्गमैत्री नभएकाले त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने भनेर योजना अघि सारिएको अध्यक्ष आचार्य बताउँछन् ।
विश्व दृष्टि दिवस हरेक वर्षको अक्टोबर दोस्रो बिहीबार पर्छ । सोही अनुसार यस वर्षको विश्व दृष्टि दिवस अक्टोबर १४ तारिखमा मनाइनेछ ।
