बैङ्कहरूमा पैसाको हाहाकार, आजदेखी २ दर्जन बैङ्कले बढाए निक्षेपको ब्याजदर, यी ४ बैङ्कले बढाएनन्

काठमाडौँ । दसैँ नसकिँदै बैङ्कहरूमा पैसाको अभाव भएको छ । बैङ्कहरूले लगानीयोग्य रकमको अभाव भएपछि निक्षेपको ब्याजदर बढाउन थालेका छन् । दसैँमा जनताले पैसा निकालेका कारण र असोजमा सरकारले कर सङ्कलन गरेकाले बजारमा पैसाको हाहाकार सुरु भएको छ ।
लगानी बढाएर बजारमा प्रतिस्पर्धा गरिरहेका बैङ्कहरूले लगानी पनि उत्तिकै आक्रामक रूपमा गरिरहेका छन् । लगानी बढेपछि बजारमा तरलतामा सङ्कुचन आएको हो ।
गत असोज १ गते नै अधिकतम १० प्रतिसतमाथि व्याज पुर्याएका बैङ्कहरूले कात्तिक १ गते अधिकतम ११.६७ प्रतिसतसम्म पुर्याएका छन् । प्रकाशित ब्याजदर अनुसार हिमालयन बैङ्कले सबैभन्दा बढी ११.६७ प्रतिशत ब्याजदर पुर्याएको छ । त्यस्तै दोस्रोमा रहेको एनआईसी एसियाको निक्षेपको ब्याजदर ११.१० प्रतिशतसम्म र लक्ष्मी बैङ्कले पनि ११.०५ प्रतिशतसम्मको ब्याजदर दिने गरी सार्वजनिक गरेका छन् ।
त्यस्तै, नेपाल बङ्गलादेशले १०.२८ प्रतिशतसम्म, सिभिल बैङ्कले १०.११ प्रतिशतसम्म, सिद्धार्थले १०.३ प्रतिशतसम्म र एनसीसीले १० प्रतिशतसम्म ब्याजदरको आकर्षण देखाएका छन् । अरू बैङ्कले भने एकल अङ्कमा ब्याजदर कायम राखेका छन् ।
जसमा माछापुच्छ्रेले ९.८५ प्रतिशतसम्म कुमारीले ९.८१ प्रतिशतसम्म, सेन्चुरी बैङ्कले ९.७५ प्रतिशतसम्म, एनएमबिले ९.५८ प्रतिशतसम्म, बैङ्क अफ काठमान्डुको ९.५७ प्रतिशतसम्म, सिटिजन्स बैङ्कले ९.२६ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् ।
यस पटक व्याज नबढाउने बैङ्कहरूमा राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु बैङ्क, स्टाडर्ड चाटर्ड बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्क रहेका छन् ।