ब्याजदर सम्वन्धि राष्ट्र बैंकको नयाँ सर्कुलर, औसत ब्याजदरमा मात्रै १० प्रतिशत वृद्धि गर्न पाइने « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

ब्याजदर सम्वन्धि राष्ट्र बैंकको नयाँ सर्कुलर, औसत ब्याजदरमा मात्रै १० प्रतिशत वृद्धि गर्न पाइने



काठमाडौं । राष्ट्र बैंकले ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले मंसिर महिनादेखि नयाँ ब्याजदर सार्वजनिक गर्ने समय नजिकिदै गर्दा राष्ट्र बैंकले भने नयाँ सर्कुलर जारी गरेको हो । राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर सम्वन्धि जारी गरेको नयाँ सर्कुलर मंसिर महिनादेखि लागू हुने गरि कार्यान्वयन गर्नुपर्ने छ ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन, परिमार्ज र थप गरिएको हुँदा सोही बमोजिम गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्न यो निर्देशन जारी गरेको जनाएको छ ।

यस अघि बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने गरि जारी गरेको निर्देशन खारेज गर्दै नयाँ निर्देशन जारी गरेको हो ।

नयाँ निर्देशन अनुसार इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम् ब्याजदर (उपबुँदा ५ को प्रतिबन्धात्मक वाक्यांश र उपबुँदा ७ ले तोकेका खाताबाहेक) को औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

त्यस्तै, केन्द्रीय बैंकले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बिन्दुसम्म बढाउन सक्ने व्यवस्था हटाएको छ ।

यसैगरी बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । तर, आफुसंगै रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दू सम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्