१३.०६ प्रतिशत लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ३५ औं वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार बैंकको प्रधान कार्यालय बानेश्वरमा बिहान १० बजे बोलाएको हो ।
कोभिड–१९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी बैंकले सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न गरिने जनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र नगद लाभांश ३.०६ प्रतिशत नगद लाभांश गरी कूल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै, सभाले बैंकको प्रबन्धपत्रको दरमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ । त्यसैले मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
