ढाका व्यवसायीको गुनासो “सक्कली ढाकालाई नक्कलीले बर्बाद पार्यो”
काठमाडौं । नेपालमा ढाका कपडा छायामा परेको छ । आइतबार नेपाल ढाका कपडा उद्योगी व्यवसायी सङ्घको पत्रकार सम्मेलन कार्यक्रम गर्दै टिपिकल नेपाली ढाका छायामा परेको बताइएको छ ।
एक कार्यक्रममा बोल्दै नेपाल ढाका कपडा उद्योगी व्यवसायी सङ्घका अध्यक्ष श्याम प्रसाद गिरीले वास्तविक ढाकाको कपडा छायामा परेको जानकारी दिए । उनले भने, ‘ढाका कपडाको महत्त्व हुँदा हुदैं पनि अहिले छाया परेको छ । जुन कृत्रिम ढाकाको धागोबाट बनेका कपडा बजारमा आएर प्राकृतिक ढाका बिस्तारै हराउँदै गएको हो । तर अहिले उपभोक्ता प्राकृतिक कुराहरू प्रति आकर्षित भएका कारण अहिले फेरि ढाका कपडाको माग बढिरहेको छ ।’ अब हामी यसलाई फेसन इण्डस्ट्रिजतिर जोड्नु पर्नेमा लागि परिरहेका छौँ । त्यसपछि ढाका कपडाले बजार पाउनेमा हामी ढुक्क हुनेछौ ।
ग्रामीण, अर्ध सहरी तथा सहरी क्षेत्रहरूमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन गर्ने कार्य हुदैं आएको सङ्घका संयोजक रमेश श्रेष्ठले जानकारी दिए । यसबाट एकातिर ग्रामीण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताए । त्यस्तै अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशहरूमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुर्याएको छ ।
त्यस्तै, आयातित कपडाहरूलाई प्रतिस्थापन गर्न सहयोग पुर्याउदै आएको छ । देशको यस्तो महत्त्वपूर्ण मौलिक उत्पादनका खास गरेर ३ वटा महत्त्वपूर्ण पाटाहरू रहेको बताए । स्वदेशी बजारमा व्यापकता प्रदान गर्दै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पुर्याउनु, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नु, ढाका वस्तु उत्पादन गरी त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र नेपाली मौलिक उत्पादनको विश्व बजारमा प्रचार–प्रसार र पहिचान एवं प्रवर्द्धन हुन गई फेशन इन्डस्ट्रीमा नवीन वस्तुको रूपमा स्थापित रहेको छ ।
हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सिप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनमा बजारको माग तथा बदलिँदो परिवेश अनुसार उत्पादन विविधीकरण कार्यको थालनी भएको छ । त्यसैले ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरू तथा समाधानका उपायहरूको पहिचान २ सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयास लगायत ढाका उद्योग व्यवसायसंग सम्बन्धित यावत विषय बारे गहन छलफल गर्ने उद्देश्यले ढाका उद्यमी व्यवसायीहरूको राष्ट्रिय भेला तथा ढाका कपडाबाट उत्पादित विविध वस्तुहरू समावेश गरेर प्रदर्शनी समेत आयोजना गरिन लागेको जानकारी दिए ।
२०७८ पौष २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङकेटमा आयोजना गर्न तय गरिएको भेला तथा प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेसाजन्य अल्लोका उत्पादनहरू राखिने भएका छन् ।
उपरोक्त कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल ह्याण्डलम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घको संयुक्त पहलमा आयोजना गरिनेछ भने राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपालको सहयोग रहनेछ ।
त्यसैले अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको बताए । अहिले पनि ढाका तथा ढाकाजन्य उत्पादनहरू निर्यात भइरहेका छन् तर यस्ता निर्यात भएका ढाका उत्पादनहरूको लेखाजोखा र तथ्याङ्क राख्ने कार्य भने भएको देखिँदैन । विभिन्न शीर्षक जस्तै हस्तकलाका वस्तु वा सुती कपडा अन्तर्गत ढाकाका बस्तुहरू निर्यात भइरहेका छन् । देशभर झन्डै ५० हजार भन्दा बढी रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी भएको छ ।













