सान्जेन जलविद्युत कम्पनीले पुस १३ गते साधारणसभा आह्वान
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले पुस १३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १३ गते मंगलबार स्मार्ट क्याफे धुम्बाराहीमा सभा आह्वान गरेको हो ।
कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने भएका छन् । उक्त प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तसम्मको वासलात प्रस्तुत गर्ने भएका छन् । त्यस्तै आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा सम्वद्ध अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छन् । साथै कम्पनीको आ.व. २०७८/७९ को हिसाव किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
यस कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् ।
आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।













