नेपाली कम्पनीलाई मात्रै पुर्नबीमा गराउने निर्णय कार्यदल बनाएर सच्याउने बीमा समितिको आश्वासन

काठमाडौँ । नेपाली पुर्नबीमा कम्पनीमा मात्रै पुर्नबीमा गराउने निर्णय कार्यान्वयन नगर्न बीमा क्षेत्रसँग सम्बद्ध संस्थाहरूले बीमा समितिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार नेपाल बिमक सङ्घ, जीवन विमक सङ्घ कम्पनीका अध्यक्षहरूको संस्था (ज्यान)ले संयुक्तरुपमा बिमा समितिले गरेको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
२ साताअघि बिमा समितिले गरेको सो निर्णय विरुद्ध बीमा कम्पनीसंबद्ध संस्थाहरूले विरोध गर्दै आफ्ना माग राख्न बीमा समितिका अध्यक्षसँग समय मागेका थिए । तर बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समयनै दिएका थिएनन् । कम्पनीहरुको चर्को दबाब पछि समितिले विरोध पत्र बुझेको भए पनि समितिले गरेको निर्णयबाट ब्याक हुने सङ्केत गरेको छैन ।
छिट्टै यस समस्याको समाधान गर्न कार्यदल बनाउने आश्वासन माग राखेर पुगेका बीमासंग सम्बद्ध संस्थाका प्रतिनिधिलाई अध्यक्ष सिलवालले आश्वासन दिएका छन् । बीमा समितिले मङ्सिर ९ गते साँझ एक सर्कुलर जारी गर्दै नेपालमा रहेका पुर्नबीमा कम्पनीहरुसंग मात्रै पुर्नबीमा गर्न निर्देशन दिएको थियो ।
बीमा कम्पनीका एक सीईओले भने ‘हामीलाई आश्वासन मात्रै दिइयो कार्यदल पनि बनाइएको छैन ।’ अध्यक्षको यो झारा टार्ने बाटो हो । ज्ञापन पत्र नै बुझ्न नमान्ने अध्यक्ष सिलवालले आर्थिक चलखेल गरेर सो निर्णय गराएको आरोप बीमा कम्पानीहरुले लगाएका छन् ।